Banijya News

गिग अर्थतन्त्र र राइड हेलिङबारे नेपाल इकोनोमिक फोरमको संवाद कार्यक्रम सम्पन्न

1
1.0K Shares

नेपाल इकोनोमिक फोरमको आयोजनामा हालै ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ’ विषयक  संवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नीति निर्माता, अर्थशास्त्री, उद्यमी तथा विकास क्षेत्रका विज्ञहरूले वर्तमान बजारमा गिग अर्थतन्त्र र राइड–हेलिङ व्यवसायको अवस्था, यसका चुनौती र आगामी दिशाबारे बृहत् मन्थन गरेका थिए।

छलफलका क्रममा सहभागीहरूले राइड–हेलिङ सेवा सहरी यातायातको विकल्प मात्र नभएर रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र साना तथा मझौला उद्योगको विकासको बलियो आधार बनेको उल्लेख गरे। विशेषगरी नेपाली युवाहरूका लागि यो क्षेत्र वैकल्पिक र भरपर्दो आम्दानीको स्रोत बन्दै गएको धारणा उनीहरूले राखे। यसै सन्दर्भमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नयाँ प्रविधिलाई प्रोत्साहन गर्दै श्रमिकको हकहित, सामाजिक सुरक्षा र तथ्यमा आधारित नीति बनाउन सरकारले ध्यान दिने बताए।

कार्यक्रममा यो व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन कानुनी अस्पष्टताहरू हटाउनुपर्नेमा जोड दिइयो। NEF का रोजेश श्रेष्ठ र NEFtalk का अध्यक्ष राजेश मास्केले यस क्षेत्रको तीव्र विस्तारलाई धान्न र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम राख्न स्पष्ट कानुनी मार्गचित्र आवश्यक रहेको औंल्याए। त्यस्तै, विश्व बैंककी जास्मिन राजभण्डारी, प्रबन्ध निर्देशक आँचल कुँवर र कानुन व्यवसायी समन्त दाहालले डिजिटल व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने र गिग श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने धारणा राखे। अन्तमा, NEF का अध्यक्ष सुजीव शाक्यले गिग अर्थतन्त्रको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच निरन्तर संवाद र अनुसन्धान आवश्यक रहेको भन्दै कार्यक्रमको समापन गरे।

1

Scroll to Top