नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीका अनुसार पछिल्लो समय नेपाली सुनचाँदी बजार गम्भीर चुनौतीबाट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्य लगातार बढिरहेको र देशभित्र आर्थिक गतिविधि सुस्त रहेकाले उपभोक्ताको खरिद क्षमतामा ह्रास आएको छ। जसका कारण बजारमा नयाँ गहनाको माग ह्वात्तै घटेको छ ।
अहिले उपभोक्ताहरू नयाँ गहना किन्नुभन्दा पुराना गहना मर्मत गर्ने वा साटासाट गर्ने विकल्पतर्फ आकर्षित भएका छन्। यसले गर्दा व्यवसायीहरूको कारोबारमा उल्लेख्य गिरावट आएको छ। एकातिर व्यापार कमजोर हुँदै जानु र अर्कोतिर पसल भाडा, कर्मचारीको तलब, सुरक्षा तथा करजस्ता प्रशासनिक खर्चहरू यथावत रहनुले व्यवसायीहरूलाई दैनिक सञ्चालन खर्च धान्न समेत मुस्किल परिरहेको छ।
विशेषगरी विवाह र चाडपर्वबाहेकका अन्य समयमा सुनचाँदीको व्यापार प्रायः ठप्प जस्तै हुने गरेको छ। यो व्यवसाय केवल नाफा-घाटासँग मात्र नभई हजारौँ कालीगढ, श्रमिक र साना व्यवसायीहरूको रोजगारी तथा जीविकोपार्जनसँग समेत जोडिएकाले यस क्षेत्रमा देखिएको मन्दीले समग्र आपूर्ति शृङ्खलालाई नै प्रभावित बनाएको छ।
यस विषम परिस्थितिलाई चिर्नका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका व्यवसायमैत्री नीतिहरू ल्याउनुपर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने आवश्यकता देखिन्छ। यसका साथै, व्यवसायीहरूले पनि उपभोक्ताको विश्वास जित्न पारदर्शी कारोबार, गुणस्तरीय सेवा र आधुनिक डिजाइनका गहना उत्पादनमा ध्यान दिनुपर्छ। सुनचाँदी नेपाली संस्कृति र आर्थिक सुरक्षाको प्रतीक समेत भएकाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै यो बजारलाई पुनः गतिशील बनाउन सकिने विश्वास कोषाध्यक्ष लकान्द्रीले व्यक्त गरेका छन्।


