Banijya News

अर्थमन्त्री चितवनमा व्यस्त हुँदा धितोपत्र बोर्डका अध्यक्ष डा गोपाल भट्टको पदभार ग्रहणमा ढिलाइ

1
1.0K Shares

 

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षमा डा गोपाल भट्टलाई नियुक्त गरे पनि उनको शपथ ग्रहण र कार्यभार सम्हाल्ने प्रक्रिया अझै सुरु हुन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका कारण अर्थमन्त्री डा स्वर्णिम वाग्ले हालसम्म काठमाडौं नफर्किएका कारण यो प्रक्रिया लम्बिएको हो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको बोर्डको गरिमामय नेतृत्व पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको थियो । विगतको अभ्यास र स्थापित प्रचलनअनुसार धितोपत्र बोर्डको अध्यक्षले पदभार ग्रहण गर्दा अर्थमन्त्रीको उपस्थिति रहने परम्परा रहँदै आएको छ । सोही व्यवस्थाअनुसार बोर्ड र अर्थमन्त्रालय दुवैले मन्त्रीको प्रतीक्षा गरिरहेका छन् भने मन्त्रालयबाट पनि अर्थमन्त्री काठमाडौं फर्किएपछि मात्रै औपचारिक कार्यक्रम तय हुने जानकारी गराइएको छ ।

रास्वपाको महाधिवेशनमा सहभागी भएका प्रधानमन्त्री बालेन्द्र शाह मतदान प्रक्रियामा सहभागी नभई बुधबार नै काठमाडौं फर्किए पनि रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री वाग्ले भने चितवनमै व्यस्त छन ।

यसअघि धितोपत्र बोर्डको नेतृत्व सम्हालेका सन्तोषनारायण श्रेष्ठले २०८१ मंसिर १० गते नियुक्त भएर गत वैशाख ४ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । श्रेष्ठको राजीनामा स्वीकृत भएदेखि नै पूँजी बजारको नियामक निकाय मानिने धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा पुगेको थियो । बोर्डलाई नयाँ नेतृत्व दिनका लागि अध्यक्ष सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट व्यक्तिगत विवरण अर्थात् बायोडाटा माग गरेको थियो जसमा देशभरबाट कुल ४७ जनाले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए ।

आवेदन दिएका ४७ जनामध्येबाट सिफारिस समितिले योग्यता र अनुभवका आधारमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय डा गोपाल भट्ट र मुकुन्द क्षेत्री तथा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नवराज अधिकारी र वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य गरी चार जनाको नाम सर्टलिस्ट गरेको थियो ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूसँग विस्तृत छलफल र प्रस्तुतीकरण लिएपछि समितिले तिनै जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसलाई लामो समयसम्म थाती राखेर सरकारले अन्ततः डा गोपाल भट्टलाई अध्यक्ष चयन गरे पनि अर्थमन्त्री काठमाडौं नफर्किंदा उनको पदबहाली आउँदो साता मात्रै हुने निश्चित भएको छ ।

1

Scroll to Top