प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकिङ प्रक्रिया र नियमको पालना गरेर नै ऋण प्रवाह गरिएको भन्दै बैंकका सबै कारोबारहरू कानुनसम्मत रहेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा बयान दिँदै उनले २०७८ असोज ६ गते गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण दिँदा तत्काल सञ्चालक समिति (बोर्ड) को बैठक बस्न सम्भव नभएकाले बोर्डको मौखिक आदेशका आधारमा पछि सञ्चालक समितिबाट अनुमोदन गराउने (बोर्ड रेक्टिफिकेस) सर्तमा ऋण स्वीकृत गरिएको बताएका छन्।
पछि बसेको बोर्ड बैठकले उक्त ऋणलाई अनुमोदन गरिसकेको भन्दै उनले बैंकिङ क्षेत्रमा यसरी ऋण दिनु सामान्य प्रचलन नै रहेको जिकिर गरे। त्यस्तै, प्रभु म्यानेजमेन्टसँग भएको रेमिट्यान्स सम्झौता र (प्रिफन्डिङ) को व्यवस्था राष्ट्र बैंककै नियमअनुसार भएको र सम्झौतामा स्पष्ट उल्लेख नभएका कारण २७ करोड रुपैयाँको सेटलमेन्टमा ब्याज नलिइएको उनले स्पष्ट पारेका छन्।
बैंकको रकम सुरक्षित रहेको दाबी गर्दै सीईओ शेरचनले प्रभु म्यानेजमेन्टको नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब ९ लाख कित्ता सेयर (जसको बजार मूल्य करिब ३० करोड रुपैयाँ छ) बैंकले रोक्का राखेकाले धितो पर्याप्त रहेको बताएका छन्। साथै, २०७८ असोज १३ मा प्रभु म्यानेजमेन्टलाई विभिन्न कम्पनीमा लगानी गर्न व्यक्तिगत जमानी र स्थिर तथा चालू सम्पत्तिको धितोमा २७ करोड रुपैयाँको ुब्रिज ग्याप लोनु दिइएको र ऋण प्रवाह भइसकेपछि त्यो पैसा कहाँ खर्च भयो भन्ने जिम्मेवारी बैंकको नभई सम्बन्धित कम्पनीकै हुने उनको भनाइ छ।
बयानका क्रममा उनले दिव्या सेक्युरिटिज र अन्य व्यक्तिहरूबीचको आन्तरिक लेनदेनमा आफ्नो वा बैंकको कुनै भूमिका नरहेको, राजेन्द्र शाक्यको १५ करोड ऋण चुक्ता भइसकेको र कुसुम लामाको चेक आफूले कसैलाई नदिएको प्रस्ट पारेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनहरू बैंकले पालना गरिरहेको उल्लेख गर्दै उनले बैंकिङ प्रणालीका हजारौँ कारोबारको भित्री उद्देश्य बैंकलाई थाहा नहुने भए पनि प्रक्रियागत रूपमा सबै कार्य कानुनसम्मत रहेको दाबी गरे।


