वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा अलपत्र अवस्थामा रहेका हजारौँ मुद्दा तथा अनुसन्धानका फायलहरू खोज्ने, व्यवस्थापन गर्ने र डिजिटलाइज गर्ने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो र वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यको नेतृत्वमा अहिले मुद्दा अनुसन्धानको पाटोलाई उच्च प्राथमिकतामा राखेर यो अभियान चालिएको हो ।
वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागको कार्यक्षेत्र विस्तार गरिएको थियो। सोही क्रममा वि.सं. २०५६ सालमा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूले आफूलाई परेको मर्का र ठगीसम्बन्धी उजुरीहरू दर्ता गर्न थालेका थिए। पछि वि.सं. २०६४ सालमा छुट्टै वैदेशिक रोजगार विभाग गठन भएपछि यो क्षेत्रका सम्पूर्ण कार्यहरू विभागमार्फत सम्पादन हुन थाले, जसमा मुद्दा तथा अनुसन्धान एक महत्वपूर्ण जिम्मेवारीको रूपमा रहँदै आएको छ।
पछिल्लो समय वैदेशिक रोजगार ठगीका गुनासाहरू तीव्र रूपमा बढेपछि मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानको कार्यलाई पहिलो प्राथमिकतामा राख्दै विभागलाई निरन्तर सक्रिय रहन निर्देशन दिनुभएको छ। मन्त्रीको सोही निर्देशन र महानिर्देशक आचार्यको कमाण्डमा विभागले वर्षौँदेखि थन्किएर रहेका फायलहरू संकलन गर्ने, मिलाउने र व्यवस्थित अभिलेख तयार गर्ने कार्यलाई गति दिएको हो।
अभिलेख व्यवस्थापन गर्ने क्रममा विभागले वि.सं. २०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी अत्यन्तै महत्वपूर्ण पुराना फायलहरू समेत फेला पारेको जनाएको छ। करिब २५ वर्षदेखि ‘डम्प’ अवस्थामा रहेका हजारौँ फायलहरू खोजी गरी वर्षअनुसार ‘सालवसाली रूपमा’ भौतिक अभिलेख तयार गर्ने कार्य अहिले सम्पन्न भइसकेको छ।
यसका साथै, फेला परेका ती फायलहरूलाई स्क्यान गरी डिजिटल प्रतिलिपि ‘डिजिटल कपी’ बनाउने कार्य समेत तीव्र गतिमा अगाडि बढिरहेको छ। आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई अझ बढी प्रभावकारी, पारदर्शी र आधुनिक बनाउन विभागले ुडिजिटल ट्र्याकिङ प्रणालीु विकास गर्ने तयारी समेत गरेको छ।
वि.सं. २०५७ सालदेखिका उपलब्ध सबै फायलहरूको विवरणलाई डिजिटल प्रणालीमा अद्यावधिक (अपडेट) गरी समग्र न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने विभागको लक्ष्य रहेको छ। विभागको यस कदमबाट लामो समयदेखि न्यायको पर्खाइमा रहेका वैदेशिक रोजगार ठगीका पीडितहरूले छिटो, छरितो, पारदर्शी र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ।


