चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले देशैभरका आफ्ना १४९ वटा शाखाहरू बन्द गरेका छन्। डिजिटल बैंकिङ र विद्युतीय कारोबारको बढ्दो प्रयोगका कारण विशेष गरी महानगरपालिकाहरूमा धेरै शाखा भएका वाणिज्य बैंक तथा विकास बैंकहरूले शाखा कटौती गरेका हुन्।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा र तत्पश्चात् २०८२ मंसिर २९ गते जारी गरेको निर्देशनमार्फत महानगरपालिकाभित्र रहेका शाखाहरू बैंक आफैले निर्णय गरेर गाभ्न वा एकीकरण गर्न सक्ने खुकुलो व्यवस्था गरेको थियो। केन्द्रीय बैंकले शाखा समायोजनको नीति ल्याए पनि बैंकहरूलाई कर्मचारी कटौती गर्न वा उनीहरूलाई दुःख दिने मनसायले अपायक पर्ने विकट क्षेत्रमा सरुवा गर्न पूर्ण रूपमा रोक लगाएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार ग्राहकले पाइरहेको सुविधामा कटौती नहुने र कर्मचारी नहटाउने शर्तमा मात्र शाखा समायोजनको अनुमति दिइएको हो । यदि कुनै बैंकले कर्मचारीलाई राजीनामा दिन बाध्य पार्ने गरी अन्यायपूर्ण सरुवा गरेमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने र त्यस्ता कर्मचारीले केन्द्रीय बैंकमा सोझै उजुरी दिन सक्ने व्यवस्था गरिएको छ। हालसम्म भएका समायोजनमा यस्ता कुनै गुनासा आएका छैनन्।
चालु आर्थिक वर्षको १० महिना (वैशाख) सम्मको तथ्याङ्क हेर्दा वाणिज्य बैंकका १४१ वटा र विकास बैंकका १५ वटा शाखा घटेका छन् भने फाइनान्स कम्पनीका शाखाहरू भने २ वटाले बढेका छन्। गत असारमा ५,०९९ रहेका वाणिज्य बैंकका शाखा वैशाखसम्म आइपुग्दा ४,९६३ मा झरेका छन् भने विकास बैंकका शाखा १,१३२ बाट घटेर १,११९ मा सीमित भएका छन्। यता फाइनान्स कम्पनीका शाखा भने २९१ बाट बढेर २९३ पुगेका छन्। बैंकरहरूका अनुसार डिजिटल कारोबार बढेसँगै ग्राहकहरू बैंक धाउन छाडेकाले शाखा सञ्चालनको अनावश्यक खर्च घटाउन यो नीति निकै उपयुक्त र समयसान्दर्भिक साबित भएको छ।
राष्ट्र बैंकको शाखा समायोजन नीतिपछि १० वटा बैंक तथा वित्तीय संस्थाका कुल ११८ वटा शाखा एकीकृत भइसकेका छन्। यस प्रक्रियामा सबैभन्दा धेरै एनआईसी एसिया बैंकले ४४ वटा शाखा बन्द गरेको छ। त्यसैगरी कुमारी बैंकले २४, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १८ र प्रभु बैंकले १२ वटा शाखा समायोजन गरेका छन्। पछिल्लो ६ महिनामा प्राइम कमर्सियल बैंकले ७, एनएमबी बैंकले ४ र एभरेस्ट बैंकले १ शाखा गाभेका छन्। विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले ४, मुक्तिनाथ विकास बैंकले २ र सप्तकोशी विकास बैंकले २ वटा शाखा समायोजन गरेका छन्।
राष्ट्र बैंकको नियमअनुसार महानगरपालिका बाहिरका वा अन्य सामान्य अवस्थामा शाखा बन्द वा स्थानान्तरण गर्न केन्द्रीय बैंकको पूर्वस्वीकृति अनिवार्य नै छ। तर महानगरपालिकाभित्र भने बैंकहरूले आफै निर्णय लिन सक्नेछन्, यद्यपि सरकारी वा सार्वजनिक संस्थालाई लक्षित गरी खोलिएका शाखाको हकमा भने लिखित सहमति लिनुपर्नेछ। शाखा समायोजन गर्नुभन्दा कम्तीमा ९० दिनअगावै राष्ट्रिय दैनिक पत्रिका, बैंकको वेबसाइट र शाखाको सूचनापाटीमा जानकारी दिनुपर्ने अनिवार्य व्यवस्था छ। साथै, शाखा गाभिँदा ग्राहकले आफ्नो कर्जा चुक्ता गर्न वा सेवा बन्द गर्न चाहेमा बैंकले कुनै पनि शुल्क (पेनाल्टी) लिन पाउने छैनन् र समायोजन भएको ३ कार्यदिनभित्र यसको विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ।


