Banijya News

६ अर्बको कारोबार गरेपनी १ करोड खुद घाटामा अम्बे स्टिल्स

1
1.0K Shares

प्राथमिक सेयर निष्कासन (आईपीओ) ल्याउने अन्तिम तयारीमा रहेको अम्बे स्टिल्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ अर्ब १८ करोड ८० लाख रुपैयाँको व्यावसायिक कारोबार गरेको छ। सन् २००७ मा स्थापना भई सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यस उद्योगको व्यापारमा उतारचढाव देखिएको छ। कम्पनीले सन् २०२२ मा १० अर्ब ८७ करोड ८० लाख, सन् २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख र सन् २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो भने गत आर्थिक वर्षमा १३ प्रतिशतको वृद्धि हासिल गर्दै ९ अर्ब १० करोड ९० लाख रुपैयाँको व्यापार गर्न सफल भएको थियो।

कम्पनीको सञ्चालन नाफा रकमका आधारमा केही सुधारिए पनि मार्जिनमा भने दबाब परेको देखिन्छ। सन् २०२४ मा ७५ करोड रुपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष ७६ करोड ५० लाख रुपैयाँ पुगेको छ र चालु आर्थिक वर्षको ९ महिनामा यो ४१ करोड ९० लाख रुपैयाँ रहेको छ। यद्यपि, कारोबारको तुलनामा नाफा मार्जिन ९ प्रतिशतबाट घटेर ८ प्रतिशतमा सीमित भएको छ। उच्च सञ्चालन लागतका कारण कम्पनीको खुद नाफामा पनि गिरावट आएको छ। सन् २०२४ मा २३ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष १८ करोड ९० लाख रुपैयाँ मात्र आर्जन गर्यो भने चालु आर्थिक वर्षको ९ महिनामा १ करोड रुपैयाँ खुद घाटा व्यहोर्नुपरेको छ। तर, कम्पनीको कुल नगद सञ्चयमा भने सुधार देखिएको छ, जुन सन् २०२४ को २८ करोड २० लाखबाट बढेर गत वर्ष ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ।

अम्बे स्टिल्सको पुँजी संरचनामा अझै पनि ऋणको भार निकै उच्च रहेको छ। सन् २०२४ मा ४ अर्ब १९ करोड ८० लाख रुपैयाँ रहेको कुल ऋण गत वर्ष बढेर ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ पुगेको थियो भने चालु आर्थिक वर्षको ९ महिनामा चालुपुँजी कर्जाको अत्यधिक उपयोगका कारण यो उल्लेखनीय रूपमा बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यस बढ्दो ऋण निर्भरताले गर्दा समग्र गियरिङ अनुपात २.३० गुणाबाट बढेर गत वैशाखसम्ममा ३.०२ गुणा पुगेको छ, जसले ऋण सुरक्षा सूचकहरूलाई कमजोर बनाएको छ। त्यस्तै, कुल बाह्य दायित्व र ट्यान्जिबल नेट वर्थको अनुपात सन् २०२४ को ३.७८ गुणाबाट घटेर गत वर्ष ३.५५ गुणामा झरे पनि चालु आर्थिक वर्षको ९ महिनामा पुनः बढेर ३.९६ गुणा पुगेको छ। ऋण कभरेज सूचकहरू तर्फ ब्याज कभरेज अनुपात सन् २०२४ को १.९० गुणाबाट बढेर गत वर्ष २.१६ गुणा पुगेको छ भने डेट सर्भिस कभरेज रेसियो १.२१ गुणाबाट घटेर १.१० गुणामा झरेको छ।

उच्च मौज्दात र उठ्न बाँकी रकमको स्तरका कारण कम्पनीको वित्तीय लचकता थप खुम्चिएको छ। वार्षिक २ लाख ३८ हजार ४ सय मेट्रिक टन क्षमतामा डण्डी, बिलेट, जीआई वायर तथा ३० लाख स्क्वायर मिटर क्षमतामा गाबियन बक्स उत्पादन गर्दै आएको यस कम्पनीले आफ्ना उत्पादनहरू ‘अम्बे टीएमटी’ र ‘अम्बे जीआई’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ।

अम्बे ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा शोभाकर (हरि) न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५० प्रतिशत र शिवानी न्यौपानेको ११ प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८७ करोड ९९ लाख र अल्पकालीन कर्जाका लागि ४ अर्ब ४२ करोड ३५ लाख गरी कुल ६ अर्ब ३० करोड ३४ लाख रुपैयाँको कर्जाका लागि रेटिङ गराएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्सले यस कम्पनीको दीर्घकालीन कर्जालाई ‘ट्रिपल बी माइनस’ र अल्पकालीन कर्जालाई ‘एथ्री’ रेटिङ प्रदान गरेको छ। आगामी दिनमा कम्पनीको नाफा सुधार गर्ने, चालुपुँजी व्यवस्थापनमार्फत ऋण घटाउने र प्रस्तावित आईपीओ सफलतापूर्वक जारी गरी सो रकमको सही उपयोग गर्ने क्षमता नै मुख्य निगरानीको विषय बनेको छ।

1

Scroll to Top