Banijya News

एनसेलको २४ अर्ब आम्दानीबाट ६१ प्रतिशत कर राज्यकोषमा

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम नौ महिनामा एनसेलले आफ्नो कुल आम्दानीको झन्डै ६० प्रतिशत हिस्सा सरकारी ढुकुटीमा योगदान गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब २५ करोड ५८ लाख रुपैयाँ (१.०५ प्रतिशत) ले घटेर २४ अर्ब ३३ लाख रुपैयाँमा खुम्चिए पनि राज्यलाई बुझाउने राजस्वमा भने ठूलो हिस्सा कायम छ।

एनसेलले यस अवधिमा विभिन्न शीर्षक अन्तर्गत १४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी कर र शुल्क बुझाएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्दा १४ अर्ब ४५ करोड रुपैयाँ राजस्व बुझाइएको थियो। यस वर्षको साउनदेखि चैतसम्म कम्पनीले जीएसएम लाइसेन्स नवीकरण शुल्कबापत ३ अर्ब २९ करोड, दूरसञ्चार सेवा शुल्कबापत २ अर्ब १२ करोड, मूल्य अभिवृद्धि करबापत १ अर्ब ७४ करोड, फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड, रोयल्टीबापत १ अर्ब २९ करोड र अग्रिम करबापत १ अर्ब २५ करोड रुपैयाँ सरकारलाई बुझाएको छ।

साथै, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तारका लागि व्यवस्था गरिएको ग्रामीण दूरसञ्चार विकास कोषमा ६४ करोड ९६ लाख रुपैयाँ जम्मा भएको छ। नियमानुसार दूरसञ्चार सेवा प्रदायकले कुल आयको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार कोषमा बुझाउनुपर्ने प्रावधान अनुरूप यो रकम दाखिला गरिएको हो।

नेपालकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको कम्पनीका रूपमा एनसेलले स्थापनाकालदेखि नै अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। पछिल्लो समय दूरसञ्चार क्षेत्र सरकारी राजस्वको बलियो आधार मात्र नभई डिजिटल बैङ्किङ, क्यूआर भुक्तानी, अनलाइन व्यापार र सरकारी सेवाको डिजिटलाइजेसन जस्ता आर्थिक गतिविधिलाई चलायमान बनाउने मेरुदण्डसमेत बनेको छ।

एनसेलले कर भुक्तानीसँगै नेटवर्क विस्तार, प्रविधिमा लगानी र रोजगारी सिर्जामार्फत मुलुकको डिजिटल भविष्य र आर्थिक विकासमा बहुआयामिक योगदान पुर्‍याउँदै आएको छ।

1

Scroll to Top