Banijya News

साढे ३२ अर्ब कमाउँदा एनसेलद्वारा सरकारलाई १४ अर्ब ५९ करोड कर भुक्तानी

1
1.0K Shares

निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चालु आर्थिक वर्ष २०८२र८३ को ९ महिना (साउन–चैत) मा साढे ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार गरेको छ। यस अवधिमा कम्पनीले कुल ३२ अर्ब ४८ करोड रुपैयाँको व्यापार गर्दा त्यसको झन्डै आधा हिस्सा राज्यलाई कर र शुल्कबापत बुझाएको छ।

एनसेलले उपलब्ध गराएको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले आफ्नो कुल आम्दानीको ४५ प्रतिशत अर्थात् १४ अर्ब ५९ करोड रुपैयाँ नेपाल सरकार र नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको कोषमा जम्मा गरेको हो ।

गत वर्षको भदौ १६ गते थप ५ वर्षका लागि इजाजतपत्र (लाइसेन्स) नवीकरण गरेको एनसेलले आगामी ४ वर्षभित्र सरकारलाई कुल २० अर्ब रुपैयाँ बुझाउनुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था अन्तर्गत चालु आवको चैत मसान्तसम्ममा कम्पनीले जिएसएम लाइसेन्स शुल्कको दोस्रो किस्तावापत मात्रै ३ अर्ब २९ करोड रुपैयाँ बुझाएको छ।

कम्पनीले बुझाएको कुल राजस्वमध्ये दूरसञ्चार सेवा शुल्क (टीएससी) बापत २ अर्ब १२ करोड रुपैयाँ रहेको छ, जुन सरकारले उपभोक्ताबाट लिइने मोबाइल तथा इन्टरनेट महसुलमा तोकेको १० प्रतिशत सेवा शुल्कवापत संकलन भएको हो । यसैगरी, एनसेलले फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ अर्ब ७४ करोड र नियम अनुसार कुल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ नियामक निकायलाई बुझाएको छ।

त्यसबाहेक, कम्पनीले अग्रिम करबापत १ अर्ब २५ करोड, भन्सार महसुलबापत १ अर्ब ८० लाख, स्रोतमा करकट्टी (टीडीएस) बापत ८९ करोड ५४ लाख, ग्रामीण दूरसञ्चार विकास कोष वापत ६४ करोड ९६ लाख, स्वामित्व करबापत ३४ करोड ९८ लाख र इन्टरनेट सेवाप्रदायकको अनुमति पत्रवापत २ लाख ७० हजार रुपैयाँ सरकारी खातामा जम्मा गरेको छ।

व्यावसायिक विस्तारका हिसाबले नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८३ वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार एनसेलको कुल ग्राहक सङ्ख्या १ करोड ४० लाख ३९ हजार ३०२ पुगेको छ। कम्पनीको कुल नेटवर्कभित्र डेटा (इन्टरनेट) प्रयोगकर्ताको हिस्सा निकै बलियो देखिएको छ। कुल ग्राहकमध्ये मोबाइल ब्रोडब्यान्ड सेवा चलाउनेको सङ्ख्या १ करोड २२ लाख १६ हजार २२५ छ भने तीव्र गतिको फोरजी सेवा मात्रै प्रयोग गर्ने ग्राहकको सङ्ख्या १ करोड २१ लाख २५ हजार ५५४ पुगेको छ ।

1

Scroll to Top