Banijya News

भाडा नतिर्ने उद्योगको लाइन काटिएपछि मन्त्री यादवको पहलमा दुई सातामै उठ्यो ४२ करोडभन्दा बढी बक्यौता

1
1.0K Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन मन्त्री यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई कडा निर्देशन दिनुकी थिइन । उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम सङ्कलन भएको लिमिटेडले जनाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै केही उद्योगहरूले भाडा तिर्न बाँकी राखेका थिए। केही दिनअगाडि मात्रै करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना नै प्रकाशित गरिएकोमा अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन्।

यसैबीच, मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ। कारबाहीको सुरुवाती चरणमा झन्डै २ सयभन्दा बढी उद्योगको लाइन काटिएको थियो। ती उद्योगहरूले धमाधम भाडा तिरेपछि पुनः लाइन जोडिएको भए तापनि अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए । मन्त्री यादवले उक्त उद्योगहरूको बक्यौता पूर्ण रूपमा चुक्ता नहुँदासम्म लाइन नजोड्न स्पष्ट निर्देशन दिएको लिमिटेडले बताएको छ।

बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा।लि। को करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा।लि। को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ। हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ। भाडा तिर्न आनाकानी गर्नेहरूबाट आएको बाह्य दबाबका बाबजुद मन्त्री गौरिकुमारी यादवको स्पष्ट र दृढ निर्देशनका कारण छोटो समयमै वर्षौँदेखिको बक्यौता उठाउन सकिएको लिमिटेडका महाप्रबन्धक ओलीले बताउनुभयो।

1

Scroll to Top