आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)’ द्वारा प्रदान गरिने प्रतिष्ठित “नेपाल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५” अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ। होटल याक एण्ड यतीमा हालै आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले उक्त पुरस्कार संयुक्त रूपमा ग्रहण गरे । आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, लेखा मापदण्डको प्रभावकारी पालना तथा उच्च संस्थागत सुशासनको कदर गर्दै कम्पनीलाई यो सम्मान दिइएको हो।
यो सफलताप्रति खुसी व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत पवन खड्काले यस अवार्डले कम्पनीको वित्तीय पारदर्शिता र सुशासनप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाएको बताए । यो गौरवमय उपलब्धि हासिल गर्न सहयोग पुर्याउने सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, समर्पित कर्मचारी, शेयरधनी तथा नियामक निकायप्रति उनले हार्दिक आभार प्रकट गरे । यो पुरस्कारले कम्पनीले वित्तीय जवाफदेहिता र उत्कृष्ट संगठनात्मक अभ्यासलाई निरन्तरता दिइरहेको प्रमाणित गरेको छ।
वित्तीय सुशासनमा अब्बल ठहरिएको आई.एम.ई लाइफले यसै वर्ष केयर रेटिङ नेपालबाट ‘ए माइनस (A-)’ क्रेडिट रेटिङ समेत प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय स्थायित्व र उच्च भुक्तानी क्षमतालाई दर्शाउँछ। हाल देशभरका १६० शाखा तथा उपशाखाहरू र ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ताहरूको बलियो सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको यस कम्पनीले “भविष्य सुनिश्चित गर्दै” भन्ने मूल मन्त्रका साथ नेपाली बीमा बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।


