सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका एक सभापति र ९९ जना केन्द्रीय सदस्यहरूलाई बुधबार केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले शपथ गराएका हुन ।
यसैगरी निर्वाचित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीले पनि सोही अवसरमा शपथ लिएका छन्। रास्वपाको विधान अनुसार कुल १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा १०० जना महाधिवेशनबाट निर्वाचित र ५१ जना सभापतिद्वारा मनोनीत हुने प्रावधान रहेको छ।
यस अन्तर्गत महाधिवेशनबाट खुलातर्फ ३२, समावेशी समूहतर्फ ३२ र सातवटै प्रदेशबाट ५र५ जना गरी केन्द्रीय सदस्यहरू चुनिएका हुन्। यी बाहेक सातै प्रदेशका सभापतिहरू केन्द्रीय समितिमा पदेन सदस्य रहने व्यवस्था छ। दलको विधानमा कुल १९ जना पदाधिकारी रहने व्यवस्था भए तापनि हाल वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी १३ वटा पदहरू मनोनीत हुन बाँकी नै रहेका छन्।


