नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा दाबी फर्छ्यौट प्रक्रियालाई कानुनी व्यवस्था अनुसार ६ महिनाको समयसीमाभित्र ल्याउने प्रतिबद्धता जनाएकी छन्। संघीय संसद्को अर्थ समितिको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले आगामी दसैँसम्ममा पुराना दाबीहरूको छिनोफानो गरिसक्ने योजना सुनाइन्। २०८२ सालको भदौसम्मका मुद्दाहरूलाई ‘फर्स्ट इन फर्स्ट आउट’ (पहिले आउनेलाई प्राथमिकता) पद्धतिका आधारमा किनारा लगाउने कार्य भइरहेको उनले जानकारी दिइन्।
प्राधिकरणमा गत माघसम्म ६०० देखि ६५० वटा मुद्दा विचाराधीन रहेकामा पछिल्लो चार महिनामा २७६ वटा मुद्दाको फैसला भइसकेको छ। दाबी प्रक्रियालाई तीव्र बनाउन प्राधिकरणले ुवार रुमु को अवधारणामा विशेष टोली परिचालन गर्नुका साथै गुनासो सुनुवाइका लागि वेबसाइट र इमेलको संयन्त्र समेत बनाएको छ।
नियमनकारी भूमिकालाई प्रभावकारी बनाउन प्राधिकरणले स्थलगत र गैर-स्थलगत निरीक्षणलाई तीव्र पारेको छ। माघ महिनायता ७८ वटा निरीक्षण सम्पन्न गरी कैफियत भेटिएका कम्पनीहरूलाई कारोबार रोक्का, निलम्बन र विभागीय कारबाहीको दायरामा ल्याइएको छ। तर, बीमा समितिकै पुरानो संरचनामा काम गर्नुपर्दा जनशक्ति र प्रादेशिक कार्यालय व्यवस्थापनमा भने चुनौती रहेको अध्यक्ष पौडेलले स्वीकार गरिन्। सांसदहरूले उठाएको स्वास्थ्य बीमाको सवालमा स्पष्ट पार्दै उनले यो कार्यक्रम नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डमार्फत सञ्चालन हुने भएकाले प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने प्रस्ट्याइन्।
हाल वैदेशिक रोजगारीमा जानेहरूको म्यादी बीमासहित नेपालमा बीमाको पहुँच ५१ प्रतिशत पुगेको तथ्याङ्क बैठकमा प्रस्तुत गरियो। बीमा क्षेत्रमा देखिने सम्पत्ति शुद्धीकरण, कृषि तथा पशुपक्षी बीमाको न्यून कभरेज र पोलिसी ‘सरेन्डर’ (बीमालेख त्याग्ने) समस्या समाधानका लागि नीतिगत सुधार भइरहेको प्राधिकरणले जनाएको छ। यी विषयहरूसहितको विस्तृत लिखित प्रतिवेदन आगामी १० दिनभित्र अर्थ समितिमा पेस गरिनेछ।
यसैगरी, बीमा क्षेत्रमा आवश्यक पर्ने बीमाङ्की (एक्युअरी) को अभाव टार्न त्रिभुवन विश्वविद्यालय र ‘एक्युअरी सोसाइटी अफ नेपाल’ सँग समन्वय गरी जनशक्ति उत्पादन भइरहेको जानकारी दिइएको छ। बीमा शुल्क निर्धारणमा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण बनाउन केही विधाहरूलाई गैर-ट्यारिफमा लैजाने प्रक्रिया सुरु भइसकेको र यसलाई अन्तर्राष्ट्रिय अभ्यासका आधारमा थप विस्तार गरिने अध्यक्ष पौडेलले उल्लेख गरेकी छन्।


