बागमती प्रदेश सरकारले यातायात सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रदेशबाटै गर्ने तयारी अघि बढाएको छ। आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत प्रदेश सरकारले यातायात क्षेत्रको व्यापक डिजिटल रूपान्तरण गर्ने योजना सार्वजनिक गरेको हो।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार ‘प्रविधि र पारदर्शिताः सेवा प्रवाहको नयाँ परिभाषा’ अवधारणाअनुसार यातायात कार्यालयबाट प्रदान गरिने अधिकांश सेवा क्रमशः अनलाइन माध्यमबाट उपलब्ध गराइनेछ। यसका लागि आवश्यक पूर्वाधार निर्माण, पुराना कागजी अभिलेखको डिजिटल रूपान्तरण, सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीको स्तरोन्नति र राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धता कायम गर्ने व्यवस्था मिलाइएको छ।
यातायात सेवामा सुशासन कायम गर्न न्यूनतम सम्पर्क विन्दुमा आधारित ‘फेसलेस सेवा’ प्रणाली लागू गर्ने लक्ष्यसहित लाइसेन्सको लिखित परीक्षा अनलाइन सञ्चालन गरिनेछ भने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई स्वचालित बनाइनेछ। लिखित र प्रयोगात्मक परीक्षाको व्यवस्थापन अलग–अलग गरी सम्भावित अनियमितता तथा मिलेमतो नियन्त्रण गर्ने योजना पनि सरकारले अघि सारेको छ।
प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा लाइसेन्स छपाइ र वितरणको अधिकार प्रदेशमै ल्याउने तयारी गरेको छ। साथै सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) लाई क्यूआर कोडयुक्त स्मार्ट कार्डमा रूपान्तरण गरिनेछ। लाइसेन्स र सवारी करसम्बन्धी राजस्व भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाइने भएकाले कर तिर्न वा नवीकरण गर्न कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिक एपसँग आबद्ध गरी थप सहज र पहुँचयोग्य बनाइने सरकारको योजना छ। यसअन्तर्गत नागरिकहरूले मोबाइल एपमार्फत लाइसेन्स, ब्लुबुक तथा सवारीको यान्त्रिक परीक्षणसम्बन्धी विवरण हेर्न सक्ने व्यवस्था गरिनेछ।
सेवाग्राहीको सुविधा बढाउन यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल डिस्प्ले, टोकन प्रणाली, शुद्ध खानेपानी, व्यवस्थित प्रतीक्षालय, सफा शौचालय तथा आवश्यक फर्निचरको व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिएको छ।
त्यसैगरी सार्वजनिक यातायातका साधनको नियमित यान्त्रिक परीक्षणलाई अनिवार्य बनाउँदै पुराना सवारीसाधनको वैज्ञानिक व्यवस्थापनका लागि निजी क्षेत्रको सहकार्यमा स्वचालित प्रविधियुक्त सवारी परीक्षण केन्द्र स्थापना तथा सञ्चालन गर्ने तयारी पनि प्रदेश सरकारले गरेको छ।


