Banijya News

एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ

1
1.1K Shares

त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–२१ मा बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।

सीआईबीका अनुसार मिश्रलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचलबाट पक्राउ गरिएको हो । हाकिमलाई साउन ११ गते वीरगन्ज महानगरपालिका–८ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गत साउन ८ गते त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ः अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो । प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएपछि सीआईबीले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ ।

प्रश्नपत्र चुहावटमा अरू व्यक्ति वा संगठित समूहको समेत संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

1

Scroll to Top