Banijya News

थुप्रिएको पुँजी घरजग्गा र सेयरमा होइन, उत्पादनमूलक क्षेत्रमा जान आवश्यक छ” :अर्थमन्त्री वाग्ले

1
1.0K Shares

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा पर्याप्त पुँजी भए पनि उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको २८औँ वार्षिक साधारणसभामा बोल्दै उनले बैंकमा थुप्रिएको रकम घरजग्गा वा सेयर बजारको सट्टेबाजीमा जानुको सट्टा उद्योग र रोजगारी सिर्जनामा उपयोग हुनुपर्नेमा जोड दिए। अहिले ब्याजदर घट्नुका साथै बैंकहरू कर्जा दिन तयार भए पनि लगानीकर्तामा विश्वासको अभावका कारण कर्जाको माग बढ्न नसकेको उनको भनाइ छ।

विगतका नीतिगत, संस्थागत कमजोरी र कुशासनले अर्थतन्त्रलाई कमजोर बनाएको स्वीकार गर्दै अर्थमन्त्रीले सुधारका घोषणालाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनाए। सुस्त बनेको पुँजी बजारलाई चलायमान बनाउन सरकारले १० देखि १२ बुँदे सुधार कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए। साथै, धेरै क्षेत्रसँग जोडिएको घरजग्गा कारोबारको मन्दी र स्थानीय अर्थतन्त्रलाई प्रभावित पारेको सहकारी संकट समाधान गर्न नीतिगत सुधार गरिने उनले स्पष्ट पारे।

सरकार आफैँले उद्योग चलाउनुको सट्टा निष्क्रिय रहेका सरकारी सम्पत्ति र संरचना निजी क्षेत्रलाई सञ्चालन वा लिजमा दिने नीति लिइएको उनले बताए। ूसरकारले उद्योग खोल्ने होइन, भएका सम्भावनाको धुलो टकटक्याएर निजी क्षेत्रलाई बुझाउने हो,ू भन्दै उनले आर्थिक गतिविधि बढाउन निजी क्षेत्रलाई नै अघि सारिने संकेत गरे।

लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी अवरोध हटाउने काम भइरहेको र वैकल्पिक वित्त कोषमार्फत लगानी सहज बनाइने उनले उल्लेख गरे। १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया जटिल रहे पनि कानुनी उल्झन फुकाउन सरकार सक्रिय रहेको छ। समग्रमा, विगतका गल्ती सुधार्दै लगानीकर्ताको विश्वास जित्नु र बैंकको पुँजीलाई उत्पादक क्षेत्रमा मोड्नु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको निष्कर्ष छ।

1

Scroll to Top