Banijya News

बाढीले क्षतिग्रस्त विद्युत् संरचना पुनःस्थापनामा तीव्रता, धार्चेमा पनि काम सुरु

1
1.0K Shares

बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोलाको करिडोरमा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ। बाढीले विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेका क्षेत्रमध्ये धार्चे गाउँपालिकाबाहेक अन्य सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आइसकेको छ। धार्चे गाउँपालिकामा भने विद्युत् संरचनामा व्यापक क्षति पुगेका कारण पुनःस्थापनाको काम जारी छ।

नेपाल विद्युत् प्राधिकरण आरुघाट वितरण केन्द्रका अनुसार आज बिहानदेखि धार्चे गाउँपालिकामा पनि विद्युत् सेवा पुनः सञ्चालनका लागि आवश्यक काम सुरु गरिएको छ। बाढीले विद्युत् लाइनका संरचनामा क्षति पुर्‍याउनुका साथै सडक तथा पुलसमेत प्रभावित बनाएकाले मर्मत टोलीलाई काम गर्न कठिनाइ भइरहेको छ।

विशेषगरी खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइन पूर्ण रूपमा क्षतिग्रस्त भएकाले पुनःस्थापनामा चुनौती थपिएको छ। उक्त क्षेत्रमा तत्काल पहुँच स्थापित गरी खोर्लाबेंसीसम्म जतिसक्दो छिटो विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुनासाथ नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा पुनःस्थापनाको काम सुरु गरेको थियो। प्राधिकरणको सक्रियताका कारण करिब १० घण्टाभित्रै गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्भव भएको थियो।

यसैगरी, आरुघाट क्षेत्रमा विद्युत् लाइन सञ्चालनमा आइसकेको छ। आरुघाट बजारसहित आरुघाट गाउँपालिकाका डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा समेत विद्युत् आपूर्ति पुनःस्थापना भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बाढीबाट प्रभावित सबै स्थानमा चालु हप्ताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिएको छ। क्षतिग्रस्त संरचनाको मर्मत, विद्युत् पोल प्रतिस्थापन तथा लाइन पुनःजडानलाई प्राथमिकतामा राखिएको छ।

बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणालीसँगै जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुर्‍याएको छ। बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलिब्रिज, पहुँच सडक तथा आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका विद्युत् पोल क्षतिग्रस्त भएका छन्। सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा रहेका वितरण लाइनका पोलमा समेत क्षति पुगेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा पनि न्यून भोल्टेजका छवटा पोलमा क्षति पुगेको छ।

1

Scroll to Top