Banijya News

खसीबोकाको ‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

1
1.0K Shares

खसीबोकाको अङ्गलाई माला बनाएर घाँटीमा झुन्ड्याउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने एक मासु व्यवसायी कारबाहीमा परेका छन्। अस्वाभाविक र अमर्यादित शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा पोस्ट गरेपछि उनको चौतर्फी आलोचना भएको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा आदीखोले मासु पसल सञ्चालन गर्दै आएका ऋषिराम रानाभाटले खसीबोकाको ‘राजखानी’को माला लगाएर बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले व्यवसायीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए।

घटनालाई गम्भीर रूपमा लिँदै तिलोत्तमा नगरपालिकाले अनुगमन गरी व्यवसायीलाई सचेत गराउनुका साथै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

नगर प्रमुख रामकृष्ण खाँणका अनुसार नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले सम्बन्धित मासु पसलको निरीक्षण गरेको थियो। सोही क्रममा व्यवसायी रानाभाटलाई आफ्नो गतिविधिप्रति सचेत गराउँदै जरिवाना गर्ने निर्णय गरिएको हो।

नगर प्रमुख खाँणका अनुसार व्यवसायी रानाभाटले आफ्नो गल्ती स्वीकार गरेका छन्। उनले तोकिएको जरिवाना बुझाउने र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएका छन्।

नगरपालिकाले मासु व्यवसाय सञ्चालन गर्दा खाद्य स्वच्छता, सरसफाइ र निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। मासुजन्य वस्तुको कारोबार गर्दा उपभोक्ताको स्वास्थ्य र व्यवसायको मर्यादालाई ध्यान दिनुपर्ने भन्दै जनस्वास्थ्यमा असर पुग्ने तथा व्यवसायको प्रतिष्ठामा आँच आउने गतिविधि नगर्न पनि चेतावनी दिएको छ।

यस घटनालाई लिएर मासु व्यवसायी संघ रुपन्देहीले पनि यसअघि अनुगमन गरी व्यवसायी रानाभाटलाई जरिवाना गरेको थियो। एउटै घटनामा व्यवसायी संघ र स्थानीय सरकारले समेत चासो देखाएपछि मासु व्यवसायको जिम्मेवारी र व्यावसायिक आचरणबारे चर्चा सुरु भएको छ।

व्यवसायीले सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दा पनि आफ्नो पेशाको मर्यादा, उपभोक्ताको संवेदनशीलता र सार्वजनिक व्यवहारको ख्याल गर्नुपर्ने यस घटनाले देखाएको छ। व्यापार प्रवर्द्धनका नाममा गरिने असामान्य गतिविधिले व्यवसायको छविमै नकारात्मक असर पार्न सक्ने भएकाले व्यवसायीहरू जिम्मेवार हुनुपर्ने देखिन्छ।

1

Scroll to Top