Banijya News

भक्तपुरको प्रजापति कम्प्लेक्समा भीषण आगलागी, करिब ६० लाख रुपैयाँको क्षति

1
1.0K Shares

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा शनिबार बिहान भीषण आगलागी भएको छ। कम्प्लेक्सको पाँचौँ तलामा सञ्चालनमा रहेको एक रेस्टुरेन्टमा बिहान करिब ७ बजे अचानक आगो लाग्दा भवन क्षेत्रमा केही समय त्रास फैलिएको थियो।

रेस्टुरेन्टबाट बाक्लो धुवाँ र आगोका ठूला मुस्ला निस्किएपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए। सडकबाटै आगो र धुवाँ देखिएपछि घटनास्थलमा सर्वसाधारणको भीडसमेत लागेको थियो।

आगलागीको सूचना प्राप्त हुनासाथ जुद्ध वारुणयन्त्र (दमकल), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको बताइएको छ।

प्रारम्भिक अनुमानअनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानीय कविता ठकुरीले बताएकी छन्। यस घटनाबाट भएको भौतिक क्षतिको प्रारम्भिक अनुमान करिब ६० लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । कम्प्लेक्सका घरधनी गणेशराज प्रजापतिका अनुसार आगो निभाउन दमकलसहित विभिन्न सुरक्षा निकाय र स्थानीयवासी परिचालित भएका थिए।

व्यस्त व्यापारिक क्षेत्र राधेराधेमा रहेको बहुउद्देश्यीय व्यावसायिक भवनमा आगलागी भएपछि भवनमा रहेका अन्य व्यवसाय तथा आसपासका क्षेत्रको सुरक्षालाई लिएर पनि चासो बढेको छ।

1

Scroll to Top