सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने निव्याजी ऋण स्वीकार गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषबाट ‘र्यापिड क्रेडिट फ्यासिलिटी’अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलरबराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । शुक्रबारको अमेरिकी डलरको मूल्यअनुसार उक्त रकम झन्डै १५ अर्ब ९४ करोड ३० लाखबराबर हुन्छ ।
त्यसबाहेक भोटेकोसी बाढीबाट प्रभावितका लागि चीन सरकारबाट ‘जीवन रक्षा तथा आपत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने’ दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले नेपालभर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गरेको छ ।
यस्तै, राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना २०२६–३० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्री तिमिल्सिनाका अनुसार, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स (मापदण्ड) २०८३ स्वीकृत गर्ने निर्णय भएको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झोलुंगे पुल नीति २०८३ स्वीकृत गरेको छ ।


