प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा जान लागेका शाहलाई स्वागत गर्न राज्यमन्त्री प्रसाद विमानस्थल पुग्ने निश्चित भएको हो।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणलाई नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा विकास साझेदारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतका प्रधानमन्त्रीदेखि विभिन्न तहका मन्त्री तथा उच्चपदस्थ अधिकारी विमानस्थल पुग्ने परम्परा रहँदै आएको छ। यसपटक वाणिज्य तथा उद्योग राज्यमन्त्रीले स्वागत गर्ने भएपछि प्रधानमन्त्री शाहको भ्रमण आर्थिक तथा विकास साझेदारीका विषयमा केन्द्रित रहने अनुमान गरिएको छ।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा स्वागत गर्ने भारतीय पदाधिकारीको तह र जिम्मेवारी विगतमा फरक–फरक रहँदै आएको छ। सन् २००६ मा भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा स्वागत गरेका थिए। शिष्टाचार नियम तोड्दै सिंह रनवेसम्मै पुगेर कोइरालालाई स्वागत गर्न पुगेका थिए। त्यसयता कुनै पनि नेपाली प्रधानमन्त्रीलाई भारतीय समकक्षीले विमानस्थलमै पुगेर स्वागत गरेका छैनन्।
सन् २००८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह राज्यमन्त्री सकील अहमद र विदेश सचिव शंकर मेननले स्वागत गरेका थिए। सन् २०११ मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतीय विदेश मन्त्रालयका शिष्टाचार प्रमुख रुचिरा कम्बोज र नेपालका लागि तत्कालीन राजदूत जयन्त प्रसादले स्वागत गरेका थिए।
सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको भारत भ्रमणका क्रममा तत्कालीन विदेशमन्त्री सुषमा स्वराज विमानस्थलमा स्वागत गर्न पुगेकी थिइन्। सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका क्रममा पनि स्वराजले नै स्वागत गरेकी थिइन्।
त्यसपछि सन् २०१८ मा ओलीलाई तत्कालीन गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। सन् २०२२ मा देउवाको भ्रमणका क्रममा पर्यटन तथा सुरक्षा राज्यमन्त्री अजय भट्ट र सन् २०२३ मा प्रचण्डको भ्रमणका क्रममा विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी स्वागतका लागि विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ।
सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रसमेत आदानप्रदान गरिनेछ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, निजी क्षेत्रका प्रतिनिधि तथा उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्। दुई देशबीच आर्थिक सहकार्य विस्तार, व्यापार प्रवर्द्धन र विकास परियोजनालाई गति दिने विषयमा भ्रमण केन्द्रित रहने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। विशेषगरी व्यापार, ऊर्जा, पूर्वाधार र जनस्तरको सम्बन्ध विस्तारमा भ्रमणबाट ठोस उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।



