उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै खाद्यान्नमा अखाद्य वस्तु मिसावट गर्ने तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने १९ जना व्यवसायीविरुद्ध कानुनी कारबाही अघि बढाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको हालसम्मको अनुगमन र नमूना परीक्षणका क्रममा कैफियत भेटिएका ती व्यापारीहरूविरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र यस मातहतका विभिन्न डिभिजन कार्यालयहरूले बजारमा गरेको आकस्मिक अनुगमनका क्रममा सङ्कलन गरिएका नमूनाहरूको प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा स्वास्थ्यका लागि हानिकारक मिसावट पाइएपछि कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार मुद्दा चलाउन लागेको हो । कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार दोषी देखिएका व्यवसायीहरूको फाइल तयार भइसकेको छ र हाल सरकारी वकिलको कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानको प्रक्रियालाई अन्तिम रूप दिने कार्य भइरहेको छ ।
प्रमुख पोखरेलले पछिल्लो समय मुलुकमा भइरहेको राजनीतिक परिस्थिति र आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता प्रक्रिया केही ढिलाइ भएको स्पष्ट पारिन। उनका अनुसार, स्थिति सामान्य हुनासाथ केही दिनभित्रै सम्बन्धित जिल्ला अदालतहरूमा ती व्यवसायीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरिनेछ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि कार्यालयले उपभोक्ता हितविपरीत कार्य गर्ने ४४ जना व्यापारीविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको दायरामा ल्याएको थियो ।
चालू आर्थिक वर्ष २०८२/८३ को हालसम्मको तथ्याङ्क हेर्दा कार्यालयले कुल दुई सय ४५ वटा खाद्यान्नका नमूनाहरूको विस्तृत विश्लेषण गरेको छ । जसमध्ये दुई सय नमूना खानयोग्य पाइएका छन् भने १६ वटा नमूना पूर्ण रूपमा प्रतिकूल अर्थात् अखाद्य प्रमाणित भएका छन्। बाँकी नमूनाहरूका बारेमा थप अनुसन्धान भइरहेको छ । परीक्षणका क्रममा कतिपय व्यवसायीले म्याद गुज्रिएका सामग्रीमा नयाँ लेबल लगाउने, तेल तथा अन्य खाद्यान्नमा मिसावट गर्ने र न्यूनतम मापदण्ड पनि पुरा नगरी उत्पादन बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
अनुगमनका क्रममा कार्यालयले एक सय २१ वटा खाद्यान्न बजार, एक सय वटा खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँहरूको सूक्ष्म निरीक्षण गरेको थियो । सोही क्रममा उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र सडेगलेका अखाद्य वस्तुहरू फेला पारिएको थियो । यस अवधिमा करिब तिन सय ११ किलो बराबरका अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ, जसको बजार मूल्य एक लाख दुई हजार दुई सय ६५ रुपैयाँभन्दा बढी रहेको छ ।
यसैगरी, कार्यालयले आफ्ना विभिन्न सेवा र अनुगमनका माध्यमबाट चालू आर्थिक वर्षमा हालसम्म १० लाख चार हजार तिन सय ७० रुपैयाँ राजस्व समेत सङ्कलन गरिसकेको छ। गुणस्तरहीन सामग्री बिक्री गर्नेहरूलाई पहिलो चरणमा सजग गराई सुधारका लागि प्रतिबद्धता गर्न लगाइएको र गम्भीर लापरवाही गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन कार्यालय प्रतिवद्ध देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको यो सक्रियताले बजारमा हुने मिसावट रोक्न र उपभोक्तालाई स्वच्छ खाद्यान्न उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।


