सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा अनियमितता गरेको आरोपमा तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ हानि पुर्याएको आरोपमा मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार गोलबजार नगरपालिका वडा नम्बर ६ र ७ मा रहेका पशु हाटबजार, बाख्रा हाटबजार तथा गुदरी हाटबजारको ठेक्का र राजस्व संकलनका क्रममा अनियमितता भएको पाइएको छ। आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हाटबजार सञ्चालनबाट प्राप्त हुनुपर्ने राजस्वमा अनियमितता भएको निष्कर्षसहित आयोगले सम्बन्धित पदाधिकारी तथा ठेकेदारलाई प्रतिवादी बनाएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस प्रकरणमा तत्कालीन नगर प्रमुख तेली, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखाका तत्कालीन प्रमुख दिनेशकुमार सहनी र हाटबजारका ठेकेदार वीरेन्द्रकुमार यादवविरुद्ध मुद्दा दायर गरिएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाका तीनवटा हाटबजारको राजस्व संकलन गर्ने जिम्मेवारी ठेकेदार यादवलाई दिइएको थियो। तर, नगरपालिकाको २०७८ साउन ४ गते बसेको कार्यपालिका बैठकले आर्थिक ऐन तथा प्रचलित कानुनी व्यवस्थाविपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरेको आरोप छ।
स्थानीय तहमा राजस्व छुट दिनुपर्ने अवस्था सिर्जना भएमा त्यस्तो निर्णय नगरसभाबाट मात्रै गर्न सकिने कानुनी व्यवस्था रहेको अख्तियारको भनाइ छ। तर, नगरसभाबाट निर्णय गराउनुपर्ने विषयलाई कार्यपालिका बैठकबाटै टुंग्याएर राजस्व छुट दिइएको आयोगले जनाएको छ।
त्यस्तै, २०७८ साउन १४ गते बसेको कार्यपालिका बैठकले पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व संकलन गर्ने जिम्मेवारी प्रतिस्पर्धाबिना नै ठेकेदार यादवलाई अमानतमा दिने निर्णय गरेको अख्तियारको आरोप छ। उक्त प्रक्रियाबाट नगरपालिकाले प्राप्त गर्नुपर्ने राजस्व असुल हुन नसकेको आयोगको निष्कर्ष छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दिइएको २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट र आर्थिक वर्ष २०७८/७९ मा असुल नगरेको १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा जोड्दा कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ सार्वजनिक सम्पत्तिमा हानि पुगेको छ।
यस प्रकरणमा तत्कालीन नगर प्रमुख तेली, उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र राजस्व शाखाका तत्कालीन प्रमुख सहनीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो कायम गरिएको छ। आयोगले उनीहरूबाट उक्त रकम असुलउपर गर्न मागदाबी गरेको छ। तत्कालीन नगर प्रमुख तेलीविरुद्ध पदमा बहाल रहँदा भ्रष्टाचारसम्बन्धी कसुर गरेको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायको मागसमेत गरिएको छ।
त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतोविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपर गर्न माग गरिएको छ।


