Banijya News

इन्धन आयातबाट ६ महिनामा ४० अर्ब रुपैयाँ बाहिरियो

1
1.1K Shares

पेट्रोलियम पदार्थमा परनिर्भरताका कारण ठूलो परिमाणमा नेपाली रुपैयाँ बाहिरिने क्रम भने घटेको छैन । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष डिजेल बाहेक सबै पेट्रोलियम पदार्थको आयात घटेपनि नेपाली रुपैया बाहिरिने क्रममा कमी आउँन नसकेको हो । डिजेल बाहेक अन्य इन्धनको आयात घट्दो क्रममा रहेपनि चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा ४० अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । पर्साको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुमन गुप्ताका अनुसार गत साउनदेखि पुस सम्ममा ४० अर्ब रुपैयाँ बढी इन्धन आयत भएको हो ।


गत साउनदेखि पुससम्ममा २३ अर्ब १० करोड ३४ लाख ९७ हजार रुपैयाँ बराबरको ५ लाख ४ हजार ४ सय १७ किलोलिटर डिजेल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३१ अर्ब ८० करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको ४ लाख ९१ हजार ८ सय ५९ किलोलिटर डिजेल आयात भएको थियो । चालू आर्थिक वर्षको पुस सम्ममा वीरगञ्ज नाका हुँदै ७ अर्ब ४८ करोड २१ लाख ५ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार १ सय ३६ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ८ करोड ३१ लाख ७५ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार ३ सय २५ किलोलिटर पेट्रोल आयात भएको थियो ।


वीरगञ्ज नाका हुँदै गत पुस सम्ममा २४ करोड ६६ लाख ८८ हजार रुपैयाँ बराबरको ६ हजार १ सय ४० किलोलिटर मट्टितेल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ७ हजार ५ सय ४ किलोलिटर मट्टितेल आयात भएको थियो । यस्तै, गत पुस सम्ममा ७ अर्ब ४९ करोड ४८ लाख ७७ हजार रुपैयाँ बराबरको ११ करोड ९७ लाख ५ सय ३० किलो एलपी ग्यास आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ९ अर्ब ३८ करोड ६९ लाख ८ हजार रुपैयाँ बराबरको १४ करोड ४६ लाख ३६ हजार ७० किलो एलपी ग्यास आयात भएको थियो ।

अन्य इन्धनको तुलनामा चालू आर्थिक वर्षमा हवाई इन्धनको आयात झण्डै तीन गुणाले घटेको छ । गत साउनदेखि पुस सम्ममा १ अर्ब ५ करोड ९८ लाख ३७ हजार रुपैयाँ बराबरको २६ हजार १ सय १२ किलोलिटर हवाई इन्धन आयात भएको छ । गत वर्षको यसै अवधिमा ५ अर्ब ७४ करोड ३० लाख ९१ हजार रुपैयाँ बराबरको ९ हजार २ सय ४ किलोलिटर हवाई इन्धन आयात भएको थियो ।

1

Scroll to Top