Banijya News

एमआरपीमा कार्यान्वयनमा सरकार र व्यवसायीबीच विवाद, किन विरोध गर्दै छन् व्यवसायी ?

1
1.1K Shares

सबै वस्तुमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्थामा सरकार र व्यवसायीबीच विवाद बढ्दै गएको छ । व्यवसायीहरू एमआरपी कार्यान्वयन नगर्ने मनसायमा छन् । तर, सरकार जसरी पनि कार्यान्वयन गराउने र नभए जरीवाना तिराउने पक्षमा देखिएको छ ।

सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ देखि सबै वस्तुमा एमआरपी अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ मा उत्पादक वा आयातकर्ताले करसहित एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था भए पनि व्यवसायीहरू यसमा असन्तुष्ट देखिएका छन् । उनीहरूले नीतिगत अस्पष्टता, समन्वयको कमी र पर्याप्त अध्ययन नभएको भन्दै एमआरपी कार्यान्वयन चुनौतीपूर्ण रहेको तर्क गर्छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने एमआरपी कार्यान्वयन उपभोक्ताको हकहितका लागि अत्यावश्यक भएको भन्दै जसरी भए पनि कार्यान्वयन गराउने र एमआरपी नराख्ने व्यापारीलाई कारबाही गर्ने बताउँदै आएको छ । एमआरपी कार्यान्वयनमा ल्याउन भन्दै विभागले यतिखेर बजार अनुगमनलाई कडा बनाएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । व्यवसायीले एमआरपी नराखेमा सामानको शुद्धता र वैधानिकता माथि प्रश्न उठ्ने उनको भनाइ छ । बजारमा मूल्य पारदर्शिता ल्याउन र प्रतिस्पर्धा बढाउन एमआरपी अनिवार्य रहेको उनले बताए ।

किन विरोध गर्दै छन् व्यवसायी ?

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले यसअघि अति आवश्यक २९ ओटा वस्तुमा मात्रै एमआरपी राखे हुने ठाउँमा सरकारले अहिले सबै किसिमका वस्तुमा राख्नुपर्ने भनेपछि चुनौती थपिएको बताए ।

‘औद्योगिक उत्पादन र भन्सारबाट ल्याएका वस्तुमा एमआरपी राख्न सकिन्छ । तर, हामीले किसानसँग सोझै खरीद गरेका वस्तुमा कसरी एमआरपी राख्ने ? अन्योल छ । किसानले हामीलाई बिल दिन सक्दैन, अनि कसरी एमआरपी राख्ने । यस्ता विभिन्न कारणले चुनौती बढेको हो,’ उनले भने ।

एमआरपीसम्बन्धी ऐन नयाँजस्तो लाग्ने र यसबारे पूर्ण जानकारी नहुँदा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । विशेषगरी सुन, हस्तकला, कपडा, फुटपाथलगायत व्यवसाय र ठूला शपिङ मलहरूमा समन्वयको अभाव छ । यस्तै, आयातित सामानमा भ्याट बिललगायत नाफाको प्रतिशतबारे स्पष्ट मार्गनिर्देशन नहुँदा व्यवसायी अन्योलमा भएको उनले बताए ।

1

Scroll to Top