सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म माग आईपीओ खरीद माग गर्न सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आवेदन सम्पूण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत दिन सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
यो कम्पनी २०६९ साल कात्तिक ७ गते स्थापना भएको कम्पनी हो । यस कम्पनीले मदिराजन्य पदार्थहरु उत्पादन तथा विक्री वितरण गर्ने गर्दछ । आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्नपी २३ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म ३ रुपैयाँ ७१ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०६ रुपैयाँ ५२ पैसा छ ।


