आर्थिक दबाबलाई मध्यनजर गर्दै सरकारले बजेट व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अब सरकारी खर्चलाई बढी परिणाममुखी, मितव्ययी र उत्तरदायी बनाइनेछ।
सरकारले अबदेखि टुक्रे आयोजना, दोहोरो प्रविष्टि भएका योजना तथा कम प्राथमिकताका कार्यक्रम तुरुन्तै रोक्ने भएको छ। शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत क्षेत्रमा बजेट सहज बनाउन यो कदम चालिएको अर्थ मन्त्रालयले जनाएको छ।
चालु र क्रमागत आयोजना भने निरन्तर अघि बढाइने स्पष्ट गरिएको छ। त्यस्तै, उपभोक्ता समितिमार्फत १० लाख रुपैयाँभन्दा माथिका आयोजना नगराउने नीति अपनाइएको छ।
परिणाम नदिने वा अस्पष्ट कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरिनेछ। तालिम, सेमिनार र गोष्ठीलाई न्यूनतम बनाइनेछ भने अत्यावश्यकबाहेक विदेशी भ्रमणमा रोक लगाइने भएको छ।
भत्ता र सुविधामा पनि सरकार कठोर बनेको छ। नियमित कामका लागि बैठक भत्ता नदिने, आफ्नै घर प्रयोग गर्ने पदाधिकारीलाई आवास सुविधा रोक्ने, तथा अनावश्यक परामर्श सेवा बन्द गर्ने निर्णय भएको हो।
अनावश्यक संरचना खारेज गरिने र नयाँ दरबन्दी नबढाइने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। यसै क्रममा भूमि समस्या समाधान आयोग खारेज गर्ने, तथा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउने निर्णय भएको छ।
कमजोर संस्थानमा थप लगानी नगर्ने, हकप्रद तथा एफपिओ सेयर जारी नगर्ने र सरकारी बाँकी असुलीलाई प्राथमिकता दिने तयारी पनि गरिएको छ। साथै राजस्व परिचालन र सार्वजनिक स्रोत व्यवस्थापनलाई अझ कडाइका साथ अघि बढाइने मन्त्रालयको भनाइ छ।


