नेपालको सार्वजनिक ऋण २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो । यो ऋणभार २०७८ सालको जनगणना अनुसार प्रतिव्यक्ति ९४ हजार ६५ रुपैयाँ बराबर पुगेको छ । गत असार मसान्तसम्म प्रतिव्यक्ति ऋणभार ९१ हजार ६८८ रुपैयाँ थियो ।
कार्यालयका तथ्यांकअनुसार भदौ मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.९२ प्रतिशत सार्वजनिक ऋण भइसकेको छ, जसमा आन्तरिक ऋण २०.९९ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत छ । आन्तरिक ऋणको हिस्सा ४६.७२ प्रतिशत र बाह्य ऋणको हिस्सा ५३.२८ प्रतिशत रहेको देखिन्छ ।
चालु आवको पहिलो दुई महिनामा सरकारले ७९ अर्ब १५ करोड ऋण उठाएको छ भने ६५ अर्ब ७ करोड ऋण भुक्तानी गरेको छ । तर, नेपाली मुद्रा कमजोर हुँदा बाह्य ऋणमाथिको दायित्व झन् बढेको छ । भदौमा मात्र विनिमय दरको उतारचढावका कारण ५५ अर्ब २३ करोड बराबरको ऋणभार थपिएको कार्यालयले जनाएको छ । यसै कारण असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब रहेको ऋण दुई महिनामै बढेर साढे २७ खर्ब नजिक पुगेको हो ।
सरकारले चालु आव ५ खर्ब ९५ अर्ब ६६ करोड ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण र २ खर्ब ३३ अर्ब बाह्य ऋण लिने योजना छ । भदौ मसान्तसम्म सरकारले ७० अर्ब आन्तरिक ऋण र ९ अर्ब १५ करोड बाह्य ऋण उठाएको छ । यो आन्तरिक ऋण लक्ष्यको १९.३४ प्रतिशत र बाह्य ऋण लक्ष्यको ३.९२ प्रतिशत हो ।
त्यस्तै, साउन महिनामा ४४ अर्ब ५८ करोड र भदौमा ३४ अर्ब ५६ करोड ऋण उठाइएको तथ्यांक छ । यसरी दुई महिनामै कुल ऋण उठाइएकाे रकम वार्षिक लक्ष्यको १३.२९ प्रतिशत हो ।
यस अवधिमा सरकार ऋण भुक्तानीतर्फ पनि सक्रिय देखिएको छ । भदौ मसान्तसम्म कुल ऋण सेवा खर्च ७८ अर्ब ६७ करोड पुगेको छ, जुन वार्षिक लक्ष्यको १९.१४ प्रतिशत हो । आन्तरिक ऋणतर्फ ५६ अर्ब ४० करोड साँवा र ११ अर्ब २७ करोड ब्याज भुक्तानी भएको छ । बाह्य ऋणतर्फ ८ अर्ब ६७ करोड साँवा र २ अर्ब ३२ करोड ब्याज तिरेको छ । यसरी दुई महिनामै कुल ६५ अर्ब ७ करोड साँवा र १३ अर्ब ६० करोड ब्याज तिरेको तथ्यांक छ ।
नेपालजस्ता मुलुकमा ऋण आवश्यक हुने भए पनि यसको सदुपयोगबारे विज्ञहरुले निरन्तर प्रश्न उठाउँदै आएका छन् । राष्ट्र बैंकका तथ्यांकअनुसार २०७३/७४ देखि २०८०/८१ सम्म सार्वजनिक ऋणको वार्षिक औसत वृद्धिदर १९ प्रतिशत छ । आन्तरिक ऋण वृद्धिदर २२.९ प्रतिशत र बाह्य ऋण वृद्धिदर १६.२ प्रतिशत रहेको छ । २०७६/७७ सालमा मात्र ऋण ३६.७ प्रतिशतले बढेको थियो ।
एक दशकअघि ६ खर्ब २३ अर्बमात्र रहेको सार्वजनिक ऋण अहिले चार गुणाले वृद्धि भई २७ खर्ब नाघेको छ । यस अवधिमा जीडीपीमा ऋणको हिस्सा २२.७ प्रतिशतबाट बढेर ४३.७१ प्रतिशत पुगेको छ । मन्त्रालयले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन र कोभिड–१९ महामारीका कारण बढेको खर्चलाई प्रमुख कारण मानेको छ ।


