Banijya News

बैङ्कहरूको गैरबैङ्किङ सम्पत्ति ५० अर्ब नाघ्यो, कसरी बढ्छ गैर बैङ्किङ सम्पत्ति ?

1
1.2K Shares

काठमाडौं । पछिल्ला तीन वर्षयता अर्थतन्त्रमा देखिएको सुस्ततासँगै बैङ्कहरू तथा वित्तीय संस्थाहरूको गैरबैङ्किङ सम्पत्ति ५० अर्ब रुपैयाँ नाघेको छ । घरजग्गाको कारोबार ठप्पजस्तै हुँदा धितो लिलाम गरेर पनि बिक्री हुन नसकेपछि बैंकहरूले आफूले नै सकारेका सम्पत्ति रकमानुसार गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) उच्च दरमा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड ३० लाख रुपैयाँ पुगेको छ । २०७९ असारमा १० अर्ब ५२ करोड रुपैयाँ मात्रै रहेको यो रकम तीन वर्षमै पाँच गुणा पुगेको हो ।

अर्थतन्त्रको सुस्त गतिका कारण ऋण असुलीमा समस्या बढ्दै गएको बैंकहरूको तथ्यांकले देखाउँछ । २०७९ असारमा १.३१ प्रतिशत रहेको निष्क्रिय कर्जा (Non-Performing Loan) २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको थियो । २०८२ असारमा केही सुधार भएर यो अनुपात ४.६२ प्रतिशतमा झरेको भए पनि बैंकहरूको जोखिम अझै उच्च छ ।

ऋणीले कर्जा तिर्न नसकेपछि बैंकहरूले धितो लिलाममा राख्ने गर्छन् । तर, लिलाममा बिक्री हुन नसकेका सम्पत्तिलाई बैंकहरूले आफ्नो नाममा सारेर गैरबैंकिङ सम्पत्तिका रूपमा बुक गर्ने प्रचलन छ । पछिल्ला महिनाहरूमा पत्रपत्रिकाहरू लिलामी सूचनाले भरिएका छन् ।

घरजग्गा कारोबारमा देखिएको ठहराव र भदौ २३/२४ को जेन–जी आन्दोलनपछि आर्थिक गतिविधि झन् कमजोर बनेको बैंकहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने, “अर्थतन्त्र केही समयसम्म सिथिल रहन्छ, जसका कारण बैंकहरूको गैरबैंकिङ सम्पत्ति अझै बढ्न सक्ने अवस्था छ ।”

निष्क्रिय कर्जा बढेसँगै बैंकहरूको सम्भावित कर्जा नोक्सानी व्यवस्था पनि उच्च दरमा बढेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असारसम्म बैंकहरूले २ खर्ब ८५ अर्ब रुपैयाँ सम्भावित नोक्सानी व्यवस्थाको रूपमा छुट्याएका छन् । त्यस्तै उठ्न नसकेको बक्यौता ब्याज ६० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । २०७९ असारमा यो रकम १९ अर्ब ६३ करोड मात्रै थियो ।

वाणिज्य बैंकहरूकै गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने विकास बैंकको ४ अर्ब ६७ करोड र फाइनान्स कम्पनीहरूको ३ अर्ब ७ करोड रुपैयाँ छ ।

बैंकहरूले दुई पटकसम्म लिलामी सूचना प्रकाशित गर्दा पनि सम्पत्ति बिक्री हुन नसकेपछि गैरबैंकिङ सम्पत्तिको रूपमा लेखापुस्तकमा राख्ने कानुनी व्यवस्था छ । सरकारले हालै भूमि सम्बन्धी ऐन संशोधन गरी यस्तो सम्पत्ति बैंकहरूले एकपटकका लागि तीन वर्षभित्र बेच्न सक्ने प्रावधानसमेत गरेको छ ।

बैंकर्स र नियामक निकाय दुवैले अहिलेको अवस्थालाई आर्थिक जोखिमको संकेतको रूपमा हेरेका छन् । उनीहरूका अनुसार सम्पत्तिको गुणस्तर कमजोर हुँदै गइरहेको छ र वैकल्पिक लगानी मोडेल तथा व्यवस्थापन उपाय खोज्नु अबको प्राथमिक चुनौती बनेको छ ।

कसरी बढ्छ गैरबैंकिङ सम्पत्ति ?

बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढ्नुको मुख्य कारण ऋण फिर्ता नहुनु हो। जब बैंकले ऋणीलाई कर्जा दिन्छ, तर समयमै फिर्ता नपुग्दा त्यसलाई निष्क्रिय कर्जा मानिन्छ। लामो समयसम्म ऋण असुली हुँदैन भने बैंकले ऋणीको धितो कब्जा गर्छ।

कब्जा गरिएका धितोमा घरजग्गा, व्यवसायिक सम्पत्ति, औद्योगिक उपकरण जस्ता वस्तुहरू पर्छन्। बैंकले सुरुमा ती धितो बिक्रीको प्रयास गर्छ, तर बजार सुस्त हुँदा बिक्री हुन सक्दैन। यस अवस्थामा बैंकले ती सम्पत्तिलाई आफ्नो नाममा राख्छ र यसलाई गैरबैंकिङ सम्पत्ति बुक गरेको मानिन्छ।

यसरी बैंकको गैरबैंकिङ सम्पत्ति बढ्दा बैंकको नगद प्रवाह कम हुन्छ, तर बुक मूल्य वृद्धि हुन्छ। घरजग्गा वा व्यवसायिक सम्पत्तिको मूल्य घट्नु, कर्जा असुलीमा ढिलाइ हुनु, र आर्थिक मन्दी वा अस्थिरताले पनि गैरबैंकिङ सम्पत्ति बढाउने प्रमुख कारण बनेका छन्।

अर्थात्, बैंकले दिएको ऋण फिर्ता नपुग्दा कब्जा गरिएको धितो बिक्री गर्न नसकेर आफ्नो नाममा राख्नु नै गैरबैंकिङ सम्पत्ति बढ्नु हो। यसले बैंकको आर्थिक स्थायित्वमा दीर्घकालीन प्रभाव पार्न सक्छ, तर बैंकको सम्पत्तिको बुक मूल्य बढाउँदै लैजान्छ।

1

Scroll to Top