Banijya News

औषधि व्यवस्था विभागको काम प्रभावकारी बनाउन कार्यदल गठन

1
1.2K Shares

सरकारले नेपालको औषधिको गुणस्तर र प्रभावकारी नियमन गर्न कार्यदल गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले नेपालको औषधिको नियमन गर्ने औषधि व्यवस्था विभागको काम प्रभावकारी गराउन भन्दै मन्त्रिस्तरीय निर्णयबाट कार्यदल बनाएकी हुन्।

‘औषधि व्यवस्था विभाग समग्र सुधारसहित पञ्चवर्षीय रणनीतिक कार्ययोजनाको मस्यौदा तर्जुमा सम्बन्धी कार्यदल’मा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाललाई संयोजक तोकिएको छ। कार्यदलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा सङ्घरत्न बज्राचार्य, राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराई, स्वास्थ्यसेवा विभाग उपचारात्मक सेवा महाशाखामा प्रमुख डा. पवनजंग रायमाझी, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेललाई सदस्य तोकिएको छ।

यस्तै उक्त कार्यदलको सदस्य सचिवमा मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई तोकिएको मन्त्रालयले जनाएको छ।

उक्त कार्यदलले एक महिनाभित्र औषधि व्यवस्था विभाग र तद अन्तर्गतका निकायमा हुने कामकारबाहीलाई चुस्त तथा व्यवस्थित गर्नका लागि संरचनागत सुधारका लागि प्रतिवेदन तयार गर्नु पर्नेछ। यसैबीच कार्यदलको पहिलो बैठक पनि बसिसकेको छ।

यसअघि औषधि व्यवसायीहरू औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई पूर्ण संशोधन र उपदफा ५ को खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका थिए।

औषधि व्यवसायीहरूले उठाएका माग, समस्या लगायत विषयमा बदलिदो समयअनुसार औषधीको आयत र गुणस्तरलाई कसरी लैजाने भन्ने विषयमा सहयोग गरी कार्यदलले प्रतिवेदन बनाउने र सोही अनुसार आगामी दिनमा निर्णय गरिने कार्यदलका एक सदस्यले बताए।

1

Scroll to Top