Banijya News

बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

1
1.2K Shares

बुट (बिल्ड–अपरेट–ट्रान्सफर) मोडलमा कुल दुई सय ८१.६३ मेगावाट क्षमताका १४ जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ। विद्युत् विकास विभागले योग्य नेपाली जलविद्युत् कम्पनी तथा तिनका संयुक्त उपक्रम (जेभी) बाट आशयपत्र आह्वान गर्दै आयोजनाको विकास प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो।

विभागले मंगलवार सार्वजनिक गरेको सूचनाअनुसार नेपालमा दर्ता भएका योग्य कम्पनीहरूलाई आशयपत्र पेश गर्न आह्वान गरिएको छ। बुट मोडलअन्तर्गत सार्वजनिक–निजी साझेदारीमार्फत आयोजना निर्माण, सञ्चालन र निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।

सूचनाअनुसार विभागले ६१.०२ मेगावाटको हुम्ला कर्णाली (हुम्ला), २१.४ मेगावाटको इन्खु खोला (सोलुखुम्बु), ५३.८५ मेगावाटको अपर चमेलिया (दार्चुला), ३३.३ मेगावाटको कावाडी खोला–१ (हुम्ला र बझाङ), ३० मेगावाटको कावाडी खोला (हुम्ला र बाजुरा), १५.५ मेगावाटको जुगाडा बूढीगंगा (बाजुरा), १५.२५ मेगावाटको जावा खोला (जुम्ला) र १५.२ मेगावाटको म्याग्दी खोला (म्याग्दी) जलविद्युत् आयोजना विकास गर्न आशयपत्र माग गरेको छ।

यसैगरी १०.८५ मेगावाटको बूढीगंगा साना आयोजना (बाजुरा), ८.६२५ मेगावाटको रुपागाड (डोल्पा), ६ मेगावाटको लुङ्ग्री खोला (रोल्पा), ४.१ मेगावाटको भेरी खोला (जुम्ला), ४.०१५ मेगावाटको न्याउरीगाड (जुम्ला) तथा २.५२ मेगावाटको डोटीगाड (डडेल्धुरा) जलविद्युत् आयोजना बनाउन पनि आशयपत्र मागिएको छ ।

विभागका अनुसार सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ र नियमावली, २०७७ बमोजिम प्रतिस्पर्धात्मक मूल्यांकनका आधारमा विकासकर्ता कम्पनी छनोट गरिनेछ ।

आशयपत्र पेश गर्ने कम्पनीहरूको मूल्यांकन प्राविधिक क्षमता (३० प्रतिशत), आर्थिक क्षमता (४० प्रतिशत) र आयोजना विकास अनुभव (३० प्रतिशत)का आधारमा गरिने विभागले जनाएको छ ।

योग्य तथा इच्छुक कम्पनीहरूले आगामी माघ २ गते (जनवरी १६) दिउँसो १२ बजेसम्म आशयपत्र दर्ता गरिसक्नुपर्नेछ । विभागमा प्राप्त आशयपत्रहरू सोही दिन दिउँसो १ बजे खोलिने सूचनामा उल्लेख छ ।

1

Scroll to Top