पछिल्लो समय इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा ठूलो गिरावट देखिएको छ । गएको ५ महिनामा इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या ३ लाख ३८ हजारले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत जुन महिनामा यस्तो सेवा लिनेहरुको संख्या २६ लाख ६५ हजार थियो ।
अहिले नोभेम्बसम्म आइपुग्दा उक्त संख्या घटेर २३ लाख २६ हजार पुगेको छ । प्रयोगकर्ता घटेसँगै केही बैंकहरुले सेवा बन्द गर्ने थालेका छन् । सानिमा बैंकले हालसालै आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गरेको छ । मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका अन्य माध्यमको प्रयोग बढेसँगै इन्टरनेट बैंकिङ प्रयोगकर्ता उल्लेख्य रुपमा घटेपछि बैंकले सो सेवा बन्द गर्ने निर्णय गरेको हो ।
यसरी प्रयोगकर्ता घट्दै गए भने अरु बैंकहरुले पनि यो सेवा बन्द गर्ने सम्भावना उच्च रहेको जानकारहरु बताउँछन् । यता, मोबाइल बैंकिङ सेवा लिनेहरुको संख्या भने २ करोड ८६ लाख पुगेको छ । र, यो सेवा लिनेको संख्या भने क्रमश बढ्दै गएको छ ।
पछिल्लो समय नेपाल क्लियरिङ हाउस (एनसीएचएल) अन्तर्गतको कनेक्ट आईपीएस र मोबाइल बैंकिङ जस्ता विकल्पहरु लोकप्रिय बन्दै गएका छन् । ग्राहकले यी माध्यमबाटै सहज रुपमा बैंकिङ कारोबार गर्न थालेपछि अतिरिक्त खर्च गरेर इन्टरनेट बैंकिङ सेवा नलिएको एक बैंकरले बताए।
‘इन्टरनेट बैंकिङ खासै प्रयोगमा आएको छैन,’ उनले भने, ‘ठूला भुक्तानी कनेक्ट आइपीएसबाट हुन्छ, साना कारोबार मोबाइल एप वा वालेटबाटै हुन्छन् । लग इन गर्न पनि सजिलो र छिटो छ । यस्तो अवस्थामा इन्टरनेट बैंकिङका लागि छुट्टै वार्षिक शुल्क किन तिर्ने भनेर ग्राहकले सेवा नलिएका हुन् । ‘ उनका अनुसार स्मार्टफोनको व्यापक प्रयोग, एपमार्फत सहज पहुँच, र छिटो सेवा उपलब्ध हुनु मोबाइल बैंकिङ लोकप्रिय हुनुका मुख्य कारण हुन् ।
यता, नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता भने बढेका छन् । मोबाइल बैंकिङ प्रयोग गर्न सजिलो र पहुँचयोग्य छ। स्मार्टफोन र मोबाइल इन्टरनेटको व्यापक प्रयोगसँगै ग्राहकहरुले जहाँसुकै र जुनसुकै समयमा पनि बैंकिङ सेवा लिन सक्ने अवस्था बनेको छ । इन्टरनेट बैंकिङका लागि कम्प्युटर वा ल्यापटप आवश्यक पर्ने हुँदा यसको प्रयोग सीमित हुने गरेको छ।
मोबाइल बैंकिङ एपहरु प्रयोगकर्ता–मैत्री भएकाले नयाँ प्रयोगकर्ताले पनि सजिलै सेवा लिन सक्छन् । एपमार्फत रकम स्थानान्तरण, बिल भुक्तानी, मोबाइल रिचार्ज, खाताको विवरण जाँचलगायतका सेवा केही सेकेन्डमै गर्न सकिन्छ ।
के हो इन्टरनेट बैंकिङ सेवा ?
इन्टरनेट बैंकिङ सेवा बैंकले आफ्ना ग्राहकलाई इन्टरनेटको माध्यमबाट उपलब्ध गराउने डिजिटल बैंकिङ सुविधा हो । यस सेवामार्फत ग्राहकले बैंक शाखामा नजाइकनै आफ्नो खाता सम्बन्धी विभिन्न काम गर्न सक्छन् । खाताको मौज्दात हेर्ने, रकम एक खाताबाट अर्को खातामा पठाउने, बिल तथा शुल्क भुक्तानी गर्ने, मोबाइल वा इन्टरनेट रिचार्ज गर्ने, ऋणको किस्ता तिर्ने जस्ता काम इन्टरनेट बैंकिङबाट सम्भव हुन्छ ।
यो सेवा कम्प्युटर, ल्यापटप वा स्मार्टफोनमार्फत प्रयोग गर्न सकिन्छ । बैंकले ग्राहकलाई प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराउँछ, जसको सहायताले सुरक्षित रूपमा आफ्नो खाता चलाउन सकिन्छ । पछिल्लो समय दुई तहको सुरक्षा प्रणाली (ओटीपी, एसएमएस वा इमेल प्रमाणीकरण) प्रयोग गरिँदै आएको छ ।
इन्टरनेट बैंकिङले समय र खर्च बचत गर्ने भएकाले सहरदेखि गाउँसम्म यसको प्रयोग बढ्दै गएको थियो । तर सेवा अवरुद्ध हुने, साइबर जोखिम, प्राविधिक समस्या तथा प्रयोगमा जटिलता देखिन थालेपछि पछिल्लो समय यसको प्रयोगमा केही गिरावट आएको देखिन्छ । यद्यपि, डिजिटल अर्थतन्त्रतर्फ मुलुक अघि बढ्दै जाँदा इन्टरनेट बैंकिङलाई आधुनिक बैंकिङ प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ ।


