Banijya News

कुल कर्जा प्रवाह ५६ खर्ब नाघ्दा विपन्न वर्गमा ५ प्रतिशत मात्रै

1
1.2K Shares

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल कर्जा ५६ खर्ब रुपैयाँ नाघिसक्दा पनि विपन्न वर्गमा जाने कर्जाको हिस्सा पाँच प्रतिशतमै सीमित भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको औसतमा ५.३६ प्रतिशत मात्र विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन्।

चालु आवमा बैंक तथा वित्तीय संस्थाले कुल ५६ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये विपन्न वर्ग क्षेत्रमा दुई खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ मात्र कर्जा पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत अर्थात् २३ अर्ब ३५ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा कुल ५२ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा विपन्न वर्गमा ६.१७ प्रतिशत अर्थात् दुई खर्ब ९७ अर्ब ९९ करोड रुपैयाँ कर्जा पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकले चालु आवको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब १६ करोड कर्जा प्रवाह गरेका छन्  । यसमध्ये ६.११ प्रतिशत अर्थात् ३१ अर्ब १७ करोड विपन्न वर्गमा प्रवाह भएको छ । विकास बैंकहरूले विपन्न वर्गमा प्रवाह गरेको कुल कर्जा रकम गत आवको सोही अवधिको तुलनामा १.६५ प्रतिशत अर्थात् ६ अर्ब ६ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब सात अर्ब ६३ करोड कर्जा प्रवाह गर्दा ७.७६ प्रतिशत अर्थात् ३७ अर्ब २३ करोड विपन्न वर्गमा प्रवाह भएको थियो  ।

यसैगरी सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीले चालु आवको पहिलो चार महिनामा कुल एक खर्ब तीन अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ५.३८ प्रतिशत मात्रै विपन्न वर्गमा लगानी भएको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुले चार अर्ब २२ करोड ८० लाख रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १.८१ प्रतिशत अर्थात् एक अर्ब ३५ करोडले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब दुई अर्ब कर्जा प्रवाह गर्दा विपन्न वर्गमा ७.१९ प्रतिशत अर्थात् पाँच अर्ब ५८ करोड प्रवाह गरेका थिए  ।

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ ले समेत विपन्न क्षेत्रतर्फ कर्जा बढाउन जोड दिएको छ । ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक’ कार्यक्रम सुरु गर्न कार्यदलले सुझाव दिएको छ । प्रत्येक महिना एक दिन गभर्नर स्वयम् कुनै ग्रामीण क्षेत्र (हिमाल, पहाड र मधेश÷तराई) भ्रमण गरी त्यहाँको आर्थिक सम्भावना, कर्जाको माग र बैंक तथा वित्तीय संस्थाको कर्जालगायत अन्य सेवाको बारेमा सरोकारवालासँग अन्तरक्रिया गर्ने र सोका आधारमा नीतिनियममा आवश्यक परिमार्जन गर्नुपर्ने कार्यदलको सुझाव छ ।

1

Scroll to Top