Banijya News

विदेश भ्रमणमा बाहिरियो ७५ अर्ब ७४ करोड रुपैयाँ

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) अवधिमा विदेश घुमफिर तथा अध्ययनका लागि जाने नेपालीबाट ७५ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भ्रमण व्यय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.८ प्रतिशतले वृद्धि भएको हो ।

केन्द्रीय बैंकका तथ्यांकअनुसार कुल भ्रमण व्ययमध्ये शिक्षातर्फको खर्च सबैभन्दा बढी देखिएको छ । साउनदेखि कात्तिकसम्म शिक्षातर्फ मात्रै ४८ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । यस आधारमा खुद भ्रमण अर्थात् घुमफिर, उपचार, व्यक्तिगत प्रयोजनलगायत शीर्षकमा भएको खर्च करिब २७ अर्ब ४८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त अवधिमा विदेशी पर्यटकबाट हुने आम्दानी भने सामान्य रूपमा बढेको छ । चार महिनामा पर्यटन आम्दानी ०.९ प्रतिशतले वृद्धि भई २७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यद्यपि, विदेश भ्रमण र अध्ययनका नाममा बाहिरिने रकमको तुलनामा पर्यटनबाट भित्रिने आम्दानी कमजोर देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कुल भ्रमण व्यय ६७ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो भने शिक्षातर्फको खर्च ३७ अर्ब ७७ करोड रुपैयाँ थियो । चालु वर्षमा शिक्षा खर्चमा उल्लेख्य वृद्धि हुँदा समग्र भ्रमण व्यय पनि चुलिएको देखिन्छ ।

भ्रमण र अन्य सेवा कारोबारको असन्तुलनका कारण खुद सेवा आय अझै घाटामा रहेको छ । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ९१ करोड रुपैयाँले घाटामा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।

1

Scroll to Top