Banijya News

५.४५ प्रतिशतमा झर्यो वाणिज्य बैंकहरुको बेस रेट, कुनको कति ?

1
1.2K Shares

वाणिज्य बैंकहरुको बेस रेट पुस महिनामा औसत ५.४५ प्रतिशत कायम भएको छ । यो मंसिरको भन्दा कम हो । मंसिरमा बैंकहरुको औसत बेस रेट ५.६० प्रतिशत हाराहरी थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बेस रेट लगातार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०२३ मा वाणिज्य बैंकहरुको आधार दर औसतमा १०.८५ प्रतिशत थियो ।

यसअवधिसम्म आइपुग्दा ५.४५ प्रतिशत कायम भएको छ । यो दर कोभिड-१९ को महामारीको समयको भन्दा कम हो । कोभिड महामारीको समय लकडाउन थियो । त्यससमय बैंकहरुको बेस रेट साढे ९ प्रतिशतदेखि साढे ६ प्रतिशतको बीचमा थियो ।

यता, सन् २०२० मे महिनामा बैंकहरुको बेस रेट ९.३१ प्रतिशत थियो । त्यो दर निरन्तर घटेर सन् २०२१ अगस्टमा ६.५९ प्रतिशतसम्म झरेको थियो । त्यस्तै, सन् २०२३ को अन्तिमसम्म बैंकहरुको आधार दर करिब ११ प्रतिशतसम्म पुगेको थियो ।

त्यसयता भने उक्त दर क्रमश घटेको छ । बैंकहरुको बेस रेट २०२५ को नोभेम्बरमा ५.४१ प्रतिशतसम्म झरेको छ । हाल बैंकहरुमा अत्याधिक तरलता रहेको छ भने कर्जाको माग अपेक्षाकृत कमजोर देखिएको छ । ब्याजदर न्यून भए पनि लगानीयोग्य रकम बैंकमै थुप्रिएको अवस्था छ ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ब्याजदर न्यून रहेको अवस्थामा पनि कर्जाको माग अपेक्षित रुपमा बढ्न सकेको छैन । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको भए पनि निजी क्षेत्र नयाँ कर्जा लिन हिच्किचाइरहेको देखिन्छ । विश्लेषकहरुका अनुसार राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितताले लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

यसले गर्दा व्यवसायी तथा उद्योगीले नयाँ लगानी विस्तार गर्ने निर्णय रोकिरहेका छन् । साथै, बजार माग सुस्त रहँदा उत्पादन र व्यापारिक गतिविधि पनि सीमित बनेको छ । अर्कोतर्फ, पहिला लिएका कर्जाको भुक्तानी दबाब अझै कायम रहेकाले धेरै व्यवसायी नयाँ कर्जा थप्न इच्छुक देखिँदैनन् । उपभोक्ता खर्च कमजोर हुँदा घरजग्गा, सवारी साधन कर्जाको माग न्यून छ ।

रियल स्टेट सेक्टरमा अपेक्षित गति नआउनु र नाफा सुनिश्चित नहुनुले कर्जा विस्तारमा अवरोध सिर्जना गरेको जानकारहरुको भनाइ छ । यद्यपि, पछिल्लो समय जलविद्युत् र पर्यटन क्षेत्रमा भने कर्जाको माग केही बढ्न थालेको संकेत देखिएको छ । तर, ब्याजदर घटेपनि आर्थिक गतिविधि र विश्वास नबढेसम्म कर्जाको माग बढ्न कठिन हुने देखिएको छ ।

पुस महिनामा वाणिज्य बैंकहरूको बेस रेट

1

Scroll to Top