Banijya News

छुर्पीको निर्यात बढाउन सरकारले बनायो नयाँ मापदण्ड

1
1.1K Shares

नेपालबाट धेरै निर्यात हुने वस्तुमध्ये छुर्पी पर्दछ । सरकारले छुर्पी निर्यात बढाउनका लागि नयाँ गुणस्तर मापदण्ड तोकेको छ । राजपत्रमा सूचना प्रकाशित गरी यी खाद्यवस्तुमा कायम हुनुपर्ने आवश्यक गुणस्तरका तत्वहरू र हुन नहुने हानिकारक चिजहरू उल्लेख गरेर मापदण्ड तयार पारिएको हो ।

छुर्पी अमेरिकालगायतका मुलुकमा ठूलो परिमाणमा निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ मा नेपालबाट ४ अर्ब ५१ करोड रुपैयाँभन्दा धेरैको छुर्पी निर्यात भएको तथ्याङ्क छ । नेपालबाट धेरै निर्यात हुने वस्तुमध्ये छुर्पी १३औं नम्बरमा पर्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

कृषि तथा पुशपन्छी विकास मन्त्रालयले तोकेको मापदण्डअनुसार छुर्पी स्वच्छ र सफा भई चारित्रिक स्वाद र बास्ना भएको हुनु पर्नेछ । साथै, कुनै किसिमको जैविक तथा अजैविक अखाद्य पदार्थको उपस्थिति हुनु हुँदैन । अखाद्य रङ प्रयोग गर्न पाइने छैन ।

मन्त्रालयले ढुंगा, बालुवा, काँच (सिसा), प्लास्टिक वा सोको टुक्रा, माटो, धातुका टुक्रालगायतलाई अजैविक अखाद्य पदार्थ र कपालको रौं, भुस, चोकर, परालका टुक्रा, कपडाको टुक्रा, जिउँदो वा मरेको कीरा र मुसा वा सोको अंश, पशुपन्छी तथा वनस्पतिजन्य अन्य फोहोरलगायत जैविक अखाद्य पदार्थ भनेको छ ।

छुर्पीमा जीवनाशक विषादीको अवशेष, हेभी मेटल्स, सूक्ष्म जीवाणुहरू तथा टक्सिन्स जस्ता कन्टामिनेन्ट्सलगायत अन्य हानिकारक तत्वको अवशेष अधिकतम मात्रा मन्त्रालयले तोकेबमोजिम हुने भनिएको छ ।

छुर्पी उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी मापदण्ड पनि मन्त्रालयले तोकेबमोजिम हुने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

यसैगरी, छुर्पीको प्याकेजिङ र लेबलिङसम्बन्धी मापदण्ड पनि तोकिएको छ । जसअनुसार छुर्पीलाई सफा र सुक्खा, खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा बन्द गरी प्याकेजिङ गर्न सकिनेछ । प्याकेजिङ गरिएको छुर्पीको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १९ अनुसारको विवरण (जस्तैः खाद्य पदार्थको नाम, उत्पादकको नाम र ठेगाना, खाद्य पदार्थको सम्मिश्रण, वस्तुको तौल वा आयतन, विक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति, निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि र तोकिएको खाद्य पदार्थमा पोषणको मात्रासम्बन्धी विवरण आदि) उल्लेख गरिनुपर्छ ।

1

Scroll to Top