प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामार्फत बैंकले देशभर करिब ३७ लाख ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न सभाले बैंकको सेवा विस्तार, डिजिटल बैंकिङ र ग्राहक केन्द्रित रणनीतिलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा स्पष्ट गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बसेको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको सोही आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि अनुमोदन गरिएको छ।
सभामा निर्णयार्थ प्रस्तुत गरिएका सबै प्रस्तावहरू कुनै विरोध बिना पारित भएका छन्। हाल प्रभु बैंकले देशभर ३१२ वटा शाखा कार्यालय, ६८ वटा एक्सटेन्सन काउन्टर र २६९ वटा एटिएममार्फत आफ्नो बैंकिङ सञ्जाल विस्तार गर्दै आएको छ। बैंकले प्रविधिमैत्री सेवा, सुरक्षित कारोबार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने जनाएको छ।
साधारण सभाको अवसरमा बैंकको निरन्तर उन्नति र प्रगतिका लागि शुभेच्छा व्यक्त गर्ने शेयरधनी, सञ्चारकर्मी तथा सम्बन्धित सबैप्रति प्रभु बैंक लिमिटेडले धन्यवाद व्यक्त गरेको छ।


