बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ विस्तार हुने कर्जा २.२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनासम्म कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको हो । चालु आवको मौद्रिक नीतिले निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार वृद्धि गर्ने लक्ष्य राखेकोमा मंसिरसम्ममा १.९ प्रतिशतमात्रै विस्तार भएको छ । यो भनेको कुल कर्जामा साउनदेखि मंसिरसम्म १ खर्ब २ अर्ब २४ करोड रुपैयाँमात्रै कर्जा विस्तार भएको हो ।
मंसिरसम्ममा कुल कर्जा ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कृषि क्षेत्रमा प्रवाहित हुने कर्जा गत आवको सोही अवधिको तुलनामा घटेको हो । गत आवको मंसिरसम्ममा अघिल्लो वर्षको सोही अवधिभन्दा १ खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले कर्जा विस्तार बढेको थियो । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने ०.७ प्रतिशतले घटेको थियो ।
आव २०८१–८२ को तुलनामा २०८२–८३ को मंसिरसम्ममा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा झनै घटेको तथ्यांकले देखाउँछ । चालु आवको मंसिरसम्ममा कृषि क्षेत्रमा ४ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ कर्जा विस्तार भएको छ । गत आवको सोही अवधिमा ४ खर्ब १५ अर्ब ४९ करोड विस्तार भएको थियो । गत असारसम्ममा यस क्षेत्रमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो । अघिल्लो आवको असारसम्म यो रकम ४ खर्ब १८ अर्ब ५९ करोड रुपैयाँ थियो ।
कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये चियातर्फको कर्जा विस्तार मात्रै बढेको केन्द्रीय बैंकको तथ्यांक छ । यस क्षेत्रमा चालु आवको ६ महिनामा ०.२ प्रतिशतमात्रै बढेको छ । फार्मिङ, पशुपालन, माछापालन तथा अन्य कृषिजन्य क्षेत्रमा कर्जा प्रवाह विगतको तुलनामा घटेको छ । कृषि कर्जाको ‘डिफल्ट’ दर बंैकिङ प्रणालीको औसतभन्दा दोब्बर भएको अध्ययनहरूले देखाउँदै आएका छन् । मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा ५.२६ प्रतिशत छ । अहिले कृषिमा नयाँ परियोजना आउनै छाडेको बैंकरहरू बताउँछन् ।
मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैंले मूल्यांकन गरी १० लाख रुपैयाँसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी प्रवाह हुने कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिएको लगायतका व्यवस्थाहरू कार्यान्वयनमा आएको छ । कृषि क्षेत्रमा कर्जा प्रवाह बढाउन लचकता अपनाइए पनि कर्जाको माग भने हुन सकेको छैन ।


