Banijya News

घरजग्गा कारोबार घटेपनि बढ्यो पुँजीगत लाभकर

1
1.1K Shares

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा कारोबारको संख्या घटेपनि यस क्षेत्रबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर भने उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिसँग तुलना गर्दा चालु आवको पुससम्म पुँजीगत लाभकर संकलन ८३ करोड रुपैयाँले वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जग्गाको वास्तविक मूल्यमा कारोबार हुनु तथा तुलनात्मक रुपमा महँगो जग्गाको खरिद–बिक्री बढेकाले कारोबार संख्या घट्दा पनि लाभकर असुली बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत पुससम्ममा पुँजीगत लाभकर ७ अर्ब ४५ करोड संकलन भएको थियो । चालु आवको पुससम्ममा लाभकर ८ अर्ब २८ करोड असुली भएको छ । यो गत वर्षभन्दा ८३ करोड रुपैयाँले धेरै हो ।

विभागका अनुसार जग्गाको वास्तविक मूल्यमा कारोबार भएको र बढी मूल्यका जग्गाको कारोबार भएकाले पुँजीगत लाभकर वृद्धि भएको हो । सरकारले कुनै पनि घरजग्गा कारोबारमा दुई दरबाट लाभकर लिने व्यवस्था गरेको छ । घरजग्गा खरिद गरेको ५ वर्षभन्दा कम समयमा बिक्री गरे त्यसबाट हुने नाफाको पाँच प्रतिशत लाभकर लाग्ने व्यवस्था छ । यस्तै, पाँच वर्षभन्दा बढी समयमा घरजग्गा बिक्री गर्दा हुने नाफामा साढे २ प्रतिशत लाभकर लाग्छ ।

सरकारले छोटो समयमै घरजग्गा खरिद–बिक्री गर्नु भनेको व्यावसायिक कारोबार हो मान्ने मान्यतामा धेरै लाभकर लिने गरेको हो । मालपोत कार्यालयहरुले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन शीर्षकबाट राजस्व असुली गर्छन् । यसमध्ये रजिष्ट्रेशनपछि सबैभन्दा बढी राजस्व पुँजीगत लाभकरबाट असुल हुने गरेको छ । गत वर्षभरमा मासिक औषत ३ अर्ब ४७ करोड रुपैयाँका दरले समग्र राजस्व असुली भएको थियो । यस्तै, गत आवमा पुँजीगत लाभकर औषत प्रतिमहिना एक अर्ब २४ करोड रुपैयाँका दरले उठेको थियो । चालु आवका ६ महिनामा समग्र राजस्व प्रतिमहिना ३ अर्ब ६५ करोड रुपैयाँले संकलन हुँदा पुँजीगत लाभकर प्रतिमहिना औषत १ अर्ब ३८ करोड संकलन भएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राजकुमार राई जग्गा कारोबार तुलनात्मक रुपमा नबढे पनि यसबाट उठ्ने राजस्व र लाभकर बढेको बताउँछन् । गत आवको साउनमा १ अर्ब ३४ करोड पँुजीगत लाभकर संकलन हुँदा चालु आवको साउनमा १ अर्ब १९ करोड रुपैयाँमात्र संकलन भएको छ । यसैगरी गत भदौमा १ अर्ब १३ करोड पुँजीगत लाभकर संकलन हुँदा चालु आवको भदौमा १ अर्ब २० करोड रुपैयाँ उठेको विभागको तथ्यांक छ ।

यसैगरी गत आवको असोजमा १ अर्ब ११ करोड रुपैयाँ यस्तो कर संकलन भएकामा चालु आवको असोजमा १ अर्ब ६ करोड रुपैयाँ संकलन भएको देखिन्छ । गत आवको कात्तिकमा ९३ करोड ७७ लाख रुपैयाँ लाभकर उठेकामा यो वर्षको कात्तिकमा केही बढेर ९९ करोड ७८ लाख संकलन भएको छ । यस्तै, गत आवको मंसिरमा १ अर्ब ३१ करोड संकलन हुँदा चालु आवमा १ अर्ब ८३ करोड असुली भएको छ । गत आवको पुसमा १ अर्ब ६० करोड रुपैयाँ लाभकर उठ्दा यो वर्षको पुसमा १ अर्ब ९८ करोड रुपैयाँ असुली भएको छ । दुई आर्थिक वर्षका ६ महिनामा लाभकर असुलीमा सामान्य रुपमा उतारचढाव देखिएको छ ।

विभागका अनुसार यो पुससम्ममा घरजग्गाको कारोबार सामान्य रुपमा घटेको छ । चालु आवको पुससम्म ७ लाख २ हजार लिखत पारित भएका छन् । गत वर्ष पुससम्म यस्तो संख्या ७ लाख ९ हजार थियो । गत वर्षको तुलनामा घरजग्गा कारोबार भएको लिखत संख्या ७ हजारले घटेको हो ।विभागका अनुसार यो वर्ष राजस्व भने १ अर्ब १२ करोड रुपैयाँ बढेको छ । चालु आवको पुससम्ममा २१ अर्ब ९५ करोड राजस्व संकलन भएको छ । गत आवको पुससम्म २० अर्ब ८३ करोड राजस्व उठेको थियो ।

किन सुस्तायो घरजग्गा कारोबार?
नेपालको अर्थतन्त्रको मुख्य खम्बा मानिने घरजग्गा (रियल इस्टेट) क्षेत्र पछिल्लो समय नीतिगत अस्पष्टता र झन्झटिलो प्रक्रियाका कारण सुस्त बनेको छ। सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने दाबी गरे पनि व्यावहारिक कठिनाइ र कानुनी जटिलताका कारण व्यवसायी र उपभोक्ता दुवै मारमा परेका छन्। विशेषगरी जग्गा व्यवस्थापन, निर्माण चरण र हस्तान्तरण प्रक्रियामा रहेका छिद्रहरूले गर्दा यो क्षेत्र मर्यादित बन्न सकेको छैन।

१. नीतिगत अस्पष्टता र झन्झटिलो प्रक्रिया
घरजग्गा योजनाको अनुमति लिने प्रक्रिया निकै लामो र थुप्रै निकायहरू धाउनुपर्ने खालको छ। काठमाडौँ उपत्यका बाहिर सरकारी जग्गा सट्टापट्टा गर्ने सुविधा नहुनु र हदबन्दी सम्बन्धी कसिलो व्यवस्थाले ठूला आयोजनाहरू अलपत्र परेका छन्। “भूमिसम्बन्धी ऐनको आठौँ संशोधनले हदबन्दीमा केही लचकता देखाए पनि नियमवलीले परमिट पाइसकेका योजनालाई समेत बाधा पुर्‍याएको” व्यवसायीहरूको गुनासो छ। यस्तै, संयुक्त आवास (Apartment) र मिश्रित आवासको स्वामित्व सम्बन्धी ऐनमा तालमेल नहुँदा कानुनी अन्योल कायम छ।

२. बिचौलियाको नियन्त्रण र अनौपचारिक बजार
बजारमा कुन घडेरी बिक्छ वा बिक्दैन भन्ने कुराको साँचो अहिले पनि अदृश्य बिचौलियाहरूको हातमा छ। अधिकांश ब्रोकरहरू दर्ता बिना नै सञ्चालनमा रहेकाले मूल्य निर्धारणमा मनपरी हुने गरेको छ। यसले गर्दा एकातिर जग्गाको मूल्य अस्वाभाविक रूपमा महँगो भएको छ भने अर्कोतिर वास्तविक विकासकर्ताहरूले नै बिचौलियाबाट जग्गा खरिद गर्नुपर्ने बाध्यता छ।

३. करको भारी र पूर्वाधारको अभाव
सरकारले व्यवस्थित आवास विकास गर्नेहरूलाई प्रोत्साहन गर्नुको साटो करको भार थपेको देखिन्छ। २०६८ सालमा संयुक्त आवासमा १.५ प्रतिशत रहेको राजस्व अहिले ५.५ प्रतिशत पुर्‍याइएको छ। यसका साथै, निजी आवासको तुलनामा सामूहिक आवासको नक्सा पास शुल्क बढी हुनु र आयोजना सम्पन्न नहुँदै सम्पत्ति कर तिर्नुपर्ने व्यवस्थाले व्यवसायीहरू निरुत्साहित भएका छन्। योजना स्थलसम्म पुग्ने बाटो, बिजुली र ढल जस्ता आधारभूत पूर्वाधार विकासकर्ता आफैँले बनाउनुपर्ने र त्यसको स्वामित्व सार्वजनिक हुने व्यवस्थाले उपभोक्तालाई अतिरिक्त आर्थिक भार परिरहेको छ।

४. वित्तीय नीति र लगानीको समस्या
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने आवास कर्जाको सीमा र ‘लोन टु भ्यालु रेसियो’ कम हुनुले पनि कारोबारमा मन्दी ल्याएको छ। विदेशी लगानीका लागि ढोका नखोलिनु र विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री गर्ने बजेटको घोषणा कानुनी रूपमा कार्यान्वयन नहुनुले ठूला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्।

५. उपभोक्ताको अविश्वास र व्यवस्थापनको चुनौती
डेभलपरहरूले समयमा आवास हस्तान्तरण नगर्नु, प्रतिबद्धता अनुसारको सेवा सुविधा (खानेपानी, पार्किङ, सामुदायिक भवन) उपलब्ध नगराउनु र धनीपुर्जा पाउन ढिलाइ हुनुले उपभोक्तामा यस क्षेत्रप्रति अविश्वास बढेको छ। सबै युनिट बिक्री भइसकेपछि पनि साझा क्षेत्रको स्वामित्व हस्तान्तरण गर्ने स्पष्ट कानुन नहुँदा विकासकर्ताहरू एउटै आयोजनामा वर्षौंसम्म अल्झिनुपर्ने अवस्था छ।

घरजग्गा कारोबार गर्दा लाइसेन्स अनिवार्य

घरजग्गा कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) अनिवार्य भएको छ । सरकारले मालपोत नियमावली संशोधन गरी घरजग्गा व्यवसाय गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो । २०३६ सालमा बनेको नियमावलीलाई आठौं संशोधन गरी सरकारले घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको परिच्छेद–६ को (ख) मा घरजग्गा कारोबार लाइसेन्स सम्बन्धी व्यवस्था राखिएको छ । उक्त व्यवस्था अनुसार अब घरजग्गा व्यवसाय गर्नेले लाइसेन्सका लागि निवेदन दिनुपर्ने छ ।

सरकारको बजेट वक्तव्यमा घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरिने कुरा केही वर्षदेखि उल्लेख हुँदै आए पनि यो नियमावलीमा व्यवस्था नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन । यस व्यवस्थाले घरजग्गा कारोबार अब व्यावसायिक र मर्यादित हुने भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले बताए । देश र जनताको हितमा बन्नुपर्ने ऐन–नियम र विधि–कार्यविधि बनाउन मिहिनेत गरेको र त्यसको नतिजा क्रमश: देखापरेको सम्बद्ध अधिकारीको भनाइ छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिबीच घरजग्गा सम्बन्धी कारोबार गर्न लाइसेन्स लिन चाहने व्यक्तिका लागि दस्तुर समेत तोकिएको छ । एक पटकमा ५ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिका हकमा ५ लाख रुपैयाँ चाहिने व्यवस्था गरिएको छ । त्यस्तै एक पटकमा ५ करोडभन्दा घटी वा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिका हकमा १० लाख तोकिएको छ ।

त्यस्तै त्यस्तो लाइसेन्स नवीकरणका लागि समेत शुल्क तोकिएको छ । लाइसेन्स प्राप्त व्यक्तिले लाइसेन्स अवधि समाप्त हुनुभन्दा ३५ दिन अगावै नवीकरण बापत उपनियम १ को खण्ड (क) बमोजिमको कारोबार गर्नेका हकमा ४ लाख लाग्ने छ। खण्ड (ख) बमोजिम कारोबार गर्नेका हकमा ८ लाख दस्तुर तोकिएको छ।

घरजग्गा कारोबार गर्दा गलत सूचना, नक्सा, मूल्य वा स्वामित्व सम्बन्धी झुटो विवरण प्रस्तुत गर्न बन्देज लगाइएको छ । त्यस्ता कम्पनीले लाइसेन्स स्पष्ट देखिने गरी कार्यालय वा कारोबार स्थलमा राख्नुपर्ने छ भने घरजग्गा कारोबार सम्बन्धी अभिलेख राखी प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै निरीक्षण वा सुपरीवेक्षण क्रममा लाइसेन्स दिने अधिकारी वा निजको अधिकार प्राप्त व्यक्तिले माग गरेको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।

1

Scroll to Top