चालू आर्थिक वर्ष ०८२/८३ को सात महिना (साउनदेखि माघसम्म)मा सरकारले ६५ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण स्वीकृत गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । गत आवको पहिलो सात महिनामा ६१ अर्ब ९५ करोड रुपैयाँ वैदेशिक ऋण स्वीकृत भएको थियो । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको दोस्रो बैठकमा प्रस्तुत तथ्यांकअनुसार चालू आवमा दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण उठाउने वार्षिक लक्ष्य राखिएकोमा सात महिनामा लक्ष्यको २८ प्रतिशत ऋण स्वीकृत भएको छ ।
चालू आवमा सरकारले दुई खर्ब ३३ अर्ब वैदेशिक ऋण उठाउने लक्ष्य लिएको छ । वार्षिक लक्ष्यको तुलनामा सात महिनामा २८ प्रतिशत ऋण भित्रिएको हो । अर्थ मन्त्रालयको आइतबार बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको दोस्रो बैठकमा प्रस्तुत भएको तथ्यांक हो यो । त्यस्तै, वैदेशिक अनुदानमा पनि वृद्धि भएको देखिन्छ । चालू आवको सात महिनामा १२ अर्ब ८४ करोड वैदेशिक अनुदान प्राप्त भएको छ । गत आवको सोही अवधिभन्दा ४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सो अवधिमा आठ अर्ब ८५ करोड मात्रै अनुदान भित्रिएको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार चालू आवको माघ मसान्तसम्म कुल वैदेशिक ऋण १४ खर्ब १६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २४.३५ प्रतिशत हो ।
त्यस्तै, बाह्य ऋणको साँवा भुक्तानीमा सात महिनामा २६ अर्ब ७६ करोड खर्च भएको छ । बाह्य ऋणमा विदेशी मुद्राको विनिमय दरमा आएको उतारचढावले ७० अर्ब ६८ करोड नोक्सानीसमेत भएको छ । सार्वजनिक ऋण दायित्व दुई खर्ब १४ अर्ब ५६ करोड रुपैयाँले थपिएको छ । १ साउनसम्ममा देशको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब पाँच करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म आइपुग्दा २७ खर्ब ३५ अर्ब ७१ करोड कायम भएको छ । सरकारले ऋणको साँवा भुक्तानीमा एक खर्ब ५२ अर्ब ८९ करोड खर्चिएको छ । हालको ऋण दायित्व कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४५.९५ प्रतिशत हो ।
बाह्य ऋण सरकारको वार्षिक लक्ष्यको ४९.१९ प्रतिशत हो । चालू आवमा दुई खर्ब ३३ अर्ब ६६ करोडको बाह्य ऋण उठाउने लक्ष्य थियो । आन्तरिक ऋण दायित्व एक खर्ब ७८ अर्ब सात करोडले बढेर १३ खर्ब १९ अर्ब ५३ करोड कायम भएको छ । यो जिडिपीको २१.६ प्रतिशत हो । आन्तरिक ऋण भुक्तानीमा एक खर्ब २७ अर्ब ७६ करोड खर्च भएको छ । सरकारले खर्च धान्न राजस्व संकलन कमजोर हुँदा आन्तरिक ऋणमा निर्भरता बढाइरहेको देखिन्छ । सात महिनामा सरकारले लक्ष्यको ८१.७ प्रतिशत अर्थात् ६ खर्ब ६५ अर्ब राजस्व संकलन गरेको छ । यो आर्थिक वर्षमा सरकारले तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य छ ।
वैदेशिक ऋणसम्बन्धी तथ्यांकमा भने सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पिडिएमओ) र महालेखा नियन्त्रकको कार्यालयबीच फरक देखिएको छ । पिडिएमओका अनुसार सात महिनामा ३७ अर्ब ७९ करोड रुपैयाँ मात्र वैदेशिक ऋण थपिएको छ । दातृ निकायले आयोजनामा सोझै गर्ने भुक्तानीको लेखांकन पिडिएमओले नगर्ने भएकाले उसको तथ्यांक महालेखाको भन्दा कम देखिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।


