पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश– २०८२ पारितसँगै कार्यान्वयनमा जाने तयारीमा छ। यो निर्णयले देशको इन्धन सुरक्षा, आयात प्रतिस्थापन र विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्बबराबरको पेट्रोलियम आयात घटाउन सकिने छ। इथानोललाई प्रतिस्पर्धी बनाउन पेट्रोलभन्दा यसको मूल्य कम हुनुपर्ने र त्यसका लागि कार्यविधि चाँडै आउने सरोकार वालाको भनाई छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दप्रसाद कार्कीले सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउनका लागि मार्गप्रशस्त गर्दै गठन आदेशमार्फत कार्यविधि बनाएर अघि बढेको बताए। उनका अनुसार सरकारले जारी गरेको गठन आदेशले इथानोल उत्पादनका लागि कच्चा पदार्थ, मूल्य निर्धारण संयन्त्र, नेपाल आयल निगम तथा उद्योगको भूमिका, र गुणस्तर नाप्ने निकायको जिम्मेवारी जस्ता विषयलाई स्पष्ट पारेको छ। सचिव कार्कीले इथानोल मिश्रणलाई नेपालले आफ्नै कच्चा पदार्थ प्रयोग गरेर पेट्रोल उत्पादन गर्नुसरह भएको बताए। यसले स्वदेशमै रोजगारी सिर्जना गर्ने र किसानको आयस्तर बढाउन मद्दत गर्ने उनले बताए।
मूल्य निर्धारण र खरिद प्रक्रिया
इथानोलको खरिद मूल्य निर्धारणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा एक समिति गठन गरिनेछ। समितिले सिफारिस गरेको मूल्यलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नेछ। खरिद प्रक्रियालाई व्यवस्थित गर्न नेपाल आयल निगमले छुट्टै खरिद विनियमावली बनाउनेछ। पेट्रोलमा इथानोल मिसाउँदा कार्बन उत्सर्जन कम हुने भएकाले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको भट्टको भनाइ छ। यसले इन्जिनको कार्यक्षमता बढाउने र हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने पनि अपेक्षा छ।
इथानोलको गुणस्तर र मूल्य
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यो नीतिले उखु किसानलाई उचित मूल्य दिलाउन र रोजगारी सिर्जना गर्न सक्ने सकारात्मक पक्ष भए पनि उपभोक्ताको अधिकारलाई केन्द्रमा राख्नुपर्ने बताए। उनले भने, ‘इथानोल मिश्रणपछि इन्धनको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन।’ कियान केमिकल इन्डस्ट्रिजका अध्यक्ष वेदप्रसाद खरेलले इथानोल उत्पादनका लागि लगानी गर्न तयार भए पनि कर्मचारीतन्त्रको ढिलासुस्ती र असहयोगका कारण वर्षौंदेखि परियोजना अगाडि बढ्न नसकेको बताए।
इथानोल के हो ?
इथानोल एक प्रकारको अल्कोहल हो, जुन उखु, मकै, गहुँ, सिमल तरुलजस्ता कृषिजन्य कच्चा पदार्थबाट उत्पादन गरिन्छ । गाउँघरमा बनाइने रक्सी जस्तै प्रक्रियाबाट उत्पादन भए पनि पेट्रोलमा प्रयोग हुने इथानोल भने अत्यधिक शुद्ध हुनुपर्छ । विज्ञहरूका अनुसार इन्जिनमा प्रयोग गर्न कम्तीमा ९७ देखि ९९ प्रतिशतसम्म शुद्धता आवश्यक पर्छ भने पेट्रोलमा मिश्रण गर्न ९९.९९ प्रतिशतसम्म शुद्ध इथानोल हुनुपर्छ । पानी मिसिएको इथानोलले गाडीको इन्जिन बिगार्न सक्ने भएकाले यसको गुणस्तर सबैभन्दा संवेदनशील पक्ष मानिन्छ ।
शुद्ध गर्न अति आवश्यक
इथानोल पेट्रोलमा मिसाएर प्रयोग गर्नुअघि त्यसको शुद्धता अत्यन्तै महत्वपूर्ण हुन्छ । यदि इथानोल शुद्ध भएन भने, विशेषगरी त्यसमा पानीको मात्रा बढी भयो भने गाडीको इन्जिनमा समस्या आउन सक्छ । इन्जिनभित्र इन्धन राम्रोसँग नजलेर गाडीको शक्ति घट्ने, माइलेज कम हुने र लामो समय प्रयोग गर्दा पार्टपुर्जामा खिया लाग्ने सम्भावना रहन्छ । त्यसैले पेट्रोलमा प्रयोग हुने इथानोल उच्च शुद्धतामा प्रशोधन गरिएको हुनुपर्छ ।
इथानोललाई इन्जिनमैत्री बनाउन थप शुद्धिकरण प्रक्रिया आवश्यक पर्छ, जसबाट पानीको अंश पूर्ण रूपमा हटाइन्छ । कम शुद्ध इथानोल प्रयोग गर्दा गाडी स्टार्ट हुन गाह्रो हुने, आवाज बढ्ने र इन्जिनको आयु घट्ने जोखिम रहन्छ । त्यसकारण इथानोल उत्पादन र प्रयोग दुवै अवस्थामा यसको शुद्धता प्रतिशत कति छ भन्ने कुरा सबैभन्दा निर्णायक पक्ष मानिन्छ ।
आयल निगमले इथानोल स्वदेशी उद्योगीबाट खरिद गरी आयातित पेट्रोलमा मिश्रण गरेर बजारमा बिक्री गर्नेछ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पेट्रोलमा इथानोल मिश्रण गरेपछि पनि तोकिएको गुणस्तर मापदण्ड पूरा भएपछिमात्र बिक्री गरिनेछ । “नेपालमा पेट्रोलमा इथानोल मिश्रण गर्ने अधिकार आयल निगमलाई मात्रै छ,” उनले भने, “अन्य कसैले मिसाएर बिक्री गर्न पाउँदैन ।”
आयात गर्नुपर्ने हुन सक्छ इथानोल !
अहिलेको अवस्थालाई हेर्दा नेपालका उद्योगले मात्रै तत्काल पर्याप्त इथानोल आपूर्ति गर्न सक्ने अवस्था छैन । हाल मुख्यतः चिनी उद्योगबाट उत्पादन हुने इथानोलको मात्रा सीमित छ । उपलब्ध तथ्यांक अनुसार उद्योगहरूले दैनिक करिब ५० हजार लिटर इथानोल उत्पादन गर्न सक्ने बताएका छन्, तर पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन दैनिक करिब २ लाख लिटर आवश्यक पर्छ । यस हिसाबले हेर्दा स्वदेशी उत्पादनले सुरुमा २–३ प्रतिशत मिश्रण मात्रै धान्न सक्छ ।
यद्यपि आवश्यक लगानी, प्रविधि र सरकारी सहयोग मिलेमा स्वदेशमै इथानोल उत्पादन विस्तार गर्न सकिने सम्भावना भने छ । उद्योगीहरूले दैनिक १ लाख लिटरसम्म उत्पादन गर्न सकिने दाबी गरिरहेका छन् । तर छोटो अवधिमा माग पूरा गर्न नसक्ने भएकाले सुरुका चरणमा केही मात्रामा इथानोल आयात गर्नुपर्ने सम्भावना देखिन्छ । दीर्घकालीन रूपमा भने स्वदेशी कच्चा पदार्थ र उद्योगको क्षमतामा आधारित भएर आयात घटाउँदै लैजान सकिने अवस्था रहेको विज्ञहरूको बुझाइ छ ।
नेपालमा सबैभन्दा बढी इथानोल चिनी उद्योगहरूले उत्पादन गरिरहेका छन् । उद्योगीहरूले दैनिक करिब ५० हजार लिटर इथानोल उपलब्ध गराउन सक्ने प्रतिबद्धता जनाएका छन् । तर गत आर्थिक वर्ष नेपालमा ७४ करोड ६४ लाख लिटर पेट्रोल आयात भएको तथ्यांक अनुसार दैनिक औसत २० लाख लिटरभन्दा बढी पेट्रोल खपत हुन्छ । यस्तो अवस्थामा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन दैनिक २ लाख लिटर आवश्यक पर्छ, जबकि हालको उत्पादनले करिब साढे २ प्रतिशत मात्रै मिश्रण सम्भव देखिन्छ ।
व्यवसायीहरूले भने आवश्यक लगानी र प्रविधि उपलब्ध भए दैनिक १ लाख लिटरसम्म इथानोल उत्पादन गर्न सकिने दाबी गर्दै आएका छन् । त्यसो हुन सके दैनिक खपतको ५ प्रतिशतसम्म इथानोल मिश्रण सम्भव हुने देखिन्छ । तर यससँगै चिनी, मकै, गहुँजस्ता खाद्यान्नको उपलब्धता र मूल्यमा असर पर्न सक्ने तथा ठूलो परिमाणमा पानीको व्यवस्थापन गर्ने चुनौती पनि देखिएको छ ।


