तनहुँमा पूर्वमन्त्रीकै जमानत जफत भएको छ । नेकपा (एमाले)बाट तनहुँ–१ मा प्रतिस्पर्धामा होमिएकी पूर्वमन्त्री भगवती न्यौपानेको जमानत जफत भएको हो । निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशतभन्दा मत प्राप्त गर्ने उमेदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । तनहुँ–१ मा ६८ हजार १४९ मत खसेकोमा ६५ हजार ४१९ मत सदर भएको थियो । जेनजी आन्दोलनको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेकी भगवतीले पाँच हजार ८३० मत प्राप्त गरेपछि उनको जमानत जफत भएको छ ।
यो क्षेत्रमा उमेदवारी दिएका १६ मध्ये दुईजनाले मात्रै धरौटीबापतको रकम फिर्ता पाउनेछन् । निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले र उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले उमेदवारी दर्ता गर्दा जम्मा गरेको जमानतबापतको रकम फिर्ता पाउनेछन् । स्वर्णिमले ३८ हजार ४० र भट्टराईले १६ हजार २३१ मत पाए ।
पूर्वमन्त्री न्यौपानेसहित तनहुँ–१ मा नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल, श्रम संस्कृति पार्टीका काशीराम गुरुङ, राप्रपाका रामदत्त जोशी, उज्यालो नेपाल पार्टीका मञ्जिल राना, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेसनल रिपब्लिकन पार्टीका सुमन थापामगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ओमविक्रम पन्त, आम जनता पार्टीकी चिजामाया अधिकारी, स्वतन्त्र उमेदवार दीपकराज जोशी, लेखनाथ खनाल र सन्देश रानाभाट लौडारीको जमानत जफत भएको छ ।
तनहुँ–२ मा भने तीनजनाले मात्रै जमानत जोगाएका छन् । निर्वाचित भएका रास्वपाका इञ्जिनियर श्रीराम न्यौपाने, नेपाली कांग्रेसका शंकर भण्डारी र नेकपा एमालेका केदार सिग्देलको जमानत सुरक्षित भएको हो । श्रीरामले ३२ हजार ६८७, भण्डारीले १४ हजार १३५, सिग्देलले ११ हजार ६६८ मत पाएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा, राप्रपाका यामबहादुर खाँड ठकुरी, मंगोल नेसनल अर्गनाइजेसनकी सुष्मा आले, नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का गणेश लामगादे, नेसनल रिपब्लिक नेपालका नमबहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे र नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारीको जमानत जफत भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारी दर्ता गर्दा जमानतबापत १० हजार रुपैयाँ धरौटी बुझाउने व्यवस्था छ । जसमा महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रूपले विपन्न उमेदवारलाई धरौटी रकममा ५० प्रतिशत छुटसमेत हुन्छ । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत नकटेमा जफत हुने कानुनी व्यवस्था रहेको छ ।


