गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको ठूलो क्षतिपछि सरकारले पुनर्निर्माण तथा पुनर्व्यवस्थापनका लागि चालू आर्थिक वर्ष ०८२/८३ मा चार अर्ब ३४ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले ‘२३–२४ भदौ आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा भौतिक सम्पत्ति पुनर्व्यवस्थापन कार्ययोजना, २०८२’ स्वीकृत गर्दै सो बजेट सुनिश्चित गरेको हो।
सरकारले स्वीकृत कार्ययोजनाअनुसार चालू आवमा ४ अर्ब ३४ करोड खर्च गर्ने र आगामी दुई आर्थिक वर्षमा प्रत्येक वर्ष १० अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजनका लागि एयरमार्क गर्ने तयारी गरेको छ। सरकारी अध्ययनले आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको देखाएको छ। यद्यपि पुनर्निर्माणका लागि करिब ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार स्वीकृत कार्ययोजनाअनुसार पुनर्निर्माण तथा पुनर्व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापनमा समस्या नहुनेछ। योजना अनुसार तीन वर्षभित्र पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कार्ययोजनाअनुसार चालू आर्थिक वर्षमा संघीय निकायका भवन पुनर्निर्माणका लागि ८० करोड ४२ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षहरूमा भने प्रत्येक वर्ष ६ अर्ब ६४ करोड ८ लाख ४० हजार रुपैयाँ विनियोजन गर्ने योजना छ। त्यस्तै, सवारीसाधन व्यवस्थापनका लागि चालू वर्षमा १ अर्ब ३६ करोड १४ लाख ३० हजार र अन्य सम्पत्ति व्यवस्थापनका लागि २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ खर्च गरिने उल्लेख गरिएको छ।
सरकारी भवनमा भएको सामान्य क्षतिको मर्मत–सम्भार तथा पूर्ण क्षति भएका संरचनाको पुनर्निर्माणको पूर्वतयारीका लागि आवश्यक बजेट सम्बन्धित निकायले चालू आवमा विनियोजित बजेटबाटै व्यवस्थापन गर्ने बताइएको छ। सवारीसाधन तथा अन्य सम्पत्तिको व्यवस्थापन पनि सम्भव भएसम्म सरकारी निकायमै उपलब्ध साधनबाट गर्ने योजना रहेको छ। साथै सरकारी भवन र सवारीसाधनको अनिवार्य बिमा गर्ने व्यवस्था पनि गरिनेछ।
पुनर्निर्माण योजनाअनुसार प्रदेश सरकारले चालू आवमा ८१ करोड २५ लाख रुपैयाँ खर्च गर्नेछन्। यसमध्ये भवन निर्माणका लागि ८ करोड ९७ लाख ५० हजार, सवारीसाधनका लागि ३४ करोड ५४ लाख र अन्य सम्पत्तिका लागि ३७ करोड ७४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आगामी दुई आर्थिक वर्षमा प्रदेशका लागि वार्षिक १ अर्ब ४६ करोड ५२ लाख १० हजार रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख छ।
स्थानीय तहहरूले चालू आर्थिक वर्षमा १ अर्ब ४२ करोड ४७ लाख रुपैयाँ खर्च गर्नुपर्ने कार्ययोजनामा उल्लेख गरिएको छ। भवन पुनर्निर्माणका लागि २४ करोड ६७ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने आगामी वर्षहरूमा यसका लागि वार्षिक २ अर्ब ४ करोड १२ लाख ७० हजार रुपैयाँ आवश्यक पर्नेछ।
यसैबीच आन्दोलनका क्रममा निजी व्यावसायिक प्रतिष्ठान तथा घरपरिवारमा पनि ठूलो क्षति पुगेको सरकारी मूल्यांकनले देखाएको छ। निजी प्रतिष्ठानमा २७ अर्ब ४९ करोड र घरपरिवारमा ६ अर्ब ५ करोड ८४ लाख गरी कुल ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसमध्ये ४५.५ प्रतिशत भवन तथा घरमा, ५.५ प्रतिशत सवारीसाधनमा र ४९ प्रतिशत अन्य सम्पत्तिमा क्षति पुगेको छ।
सरकारले क्षति भएका निजी प्रतिष्ठानलाई राहत दिन नक्सा पास शुल्क छुट, तीन वर्षसम्म सम्पत्ति करमा छुट तथा पूर्ण रूपमा नष्ट भएका सवारीसाधनको कर मिनाहा गर्ने व्यवस्था गर्ने जनाएको छ। बिमा भएका संरचनाको बिमा रकम तुरुन्त उपलब्ध गराउन र आवश्यक परे बिमा कम्पनीलाई सहुलियत ब्याजदरमा अल्पकालीन सापटी लिन सक्ने व्यवस्था पनि गरिनेछ।
राजस्व संकलन सुस्त रहेको र संघीय संरचनामा सरकारी खर्च बढ्दै गएको अवस्थाबीच पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको कार्ययोजनामा उल्लेख गरिएको छ। त्यसका लागि साना तथा टुक्रे आयोजना कटौती गर्ने, तीन करोड रुपैयाँभन्दा कम लागतका भौतिक पूर्वाधार आयोजना संघीय सरकारले नगर्ने तथा त्यस्ता आयोजना ससर्त अनुदानमार्फत सम्बन्धित तहमा हस्तान्तरण गर्ने योजना अघि सारिएको छ।


