मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित हुन थालेपछि भारतको इन्धन बजारमा असहजता देखिएको छ । भारतमा आपूर्ति दबाब बढेपछि नेपालमा पनि इन्धन संकट आउन सक्ने देखिएको छ । मध्यपूर्वमा बढ्दो तनावपछि भारतमा कच्चा तेलको आपूर्ति श्रृंखला प्रभावित भएको छ। भारतले आफ्नो घरेलु खपतलाई प्राथमिकता दिनुपर्ने अवस्था सिर्जना भएपछि इन्धन निर्यातमा कडाइ गर्ने विषयमा समेत छलफल सुरु भएको बताइएको छ । यस्तो अवस्थामा भारतबाट पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहेको नेपालमा समेत आपूर्ति संकटको जोखिम बढेकोे छ ।
नेपाल आयल निगमले भने भारतसँग भएको दीर्घकालीन पेट्रोलियम आपूर्ति सम्झौताका कारण नेपालमा इन्धन आपूर्ति नरोकिने दाबी गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार नेपाल र भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसनबीच भएको ‘जनरल सेल्स एग्रिमेन्ट’ आगामी सन् २०२७ मार्चसम्म कायम रहेकाले सम्झौताविपरीत आपूर्ति रोक्ने सम्भावना न्यून छ । यद्यपि, भारतकै घरेलु बजारमा पेट्रोलियम पदार्थको आपूर्ति असहज बन्दै जाँदा नेपालमा समेत त्यसको प्रभाव पर्ने चिन्ता बढेको छ । नेपाल आयल निगमले भारतसँग भएको दीर्घकालीन पेट्रोलियम आपूर्ति सम्झौताका कारण नेपालमा इन्धन आपूर्ति नरोकिने दाबी गर्दै आएको छ । तर विगतका अनुभवले यस्तो दाबी मात्रले उपभोक्तालाई पूर्ण रूपमा आश्वस्त बनाउन सकेको छैन ।
नेपालको पेट्रोलियम आपूर्ति लगभग पूर्ण रूपमा भारतमै निर्भर छ । भारतमा कुनै कारणले आपूर्ति प्रणालीमा दबाब बढे वा आन्तरिक बजारलाई प्राथमिकता दिइयो भने त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने सम्भावना रहन्छ । अहिले मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्व बजारमै इन्धन आपूर्ति श्रृंखलामा अनिश्चितता देखिन थालेको अवस्थामा भारतको घरेलु बजारमा समेत दबाब बढिरहेको छ । यस्तो अवस्थामा नेपाल आयल निगमले सम्झौताका आधारमा आपूर्ति नरोकिने दाबी गरे पनि विगतमा पटक–पटक यस्तै आश्वासनका बीचमा समेत नेपालले इन्धन अभावको समस्या भोगिसकेको छ। विशेषगरी सीमामा देखिने अवरोध, ढुवानी व्यवस्थापनमा समस्या, तथा बजारमा कृत्रिम अभाव सिर्जना हुँदा पेट्रोलियम पदार्थको आपूर्ति असहज हुने गरेको उदाहरण पहिले पनि देखिएको थियो । अहिले बजारमा ग्यास अभाव देखिन थालेको परिस्थितिमा यदि भारतमै इन्धन आपूर्ति थप असहज भयो भने नेपालमा पनि पेट्रोलियम पदार्थको संकट गहिरिन सक्छ ।
ग्यासका लागि भौतारिँदै उपभोक्ता
युद्ध र आपूर्ति संकटको आशंकाबीच नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव पनि चुलिएको छ । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा उपभोक्ताले नियमित रूपमा ग्यास नपाएपछि वैकल्पिक रूपमा नेपाल आयल निगमको अस्थायी डिपोमा धाउन थालेका छन्। नेपाल आयल निगमले २८ माघदेखि टेकुस्थित पुरानो कार्यालय परिसरमा अस्थायी ग्यास वितरण डिपो सञ्चालन गर्दै आएको छ। निगमका अनुसार हालसम्म उक्त डिपोबाट नेपाल ग्यासका दुई हजार ९३२ तथा एभरेस्ट र सुगम ग्यासका दुई हजार ६९० सिलिन्डर बिक्री भइसकेका छन् ।
आयात बढेको दाबी, बजारमा भने अभाव
निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख विनीतमणि उपाध्यायले सामान्य अवस्थाभन्दा बढी ग्यास आयात गरिएको दाबी गरेका छन्। उनका अनुसार फेब्रुअरी महिनामा ५० हजार ३०० टन ग्यास आयात भएको छ भने मार्चका लागि ५२ हजार टन आयातको व्यवस्था गरिएको छ । सामान्य अवस्थामा भने नेपालले ४५ हजारदेखि ४८ हजार टनसम्म ग्यास आयात गर्ने गरेको छ । तर ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार आयात बढेको भनिए पनि बजारमा मागअनुसार आपूर्ति हुन सकेको छैन।
ग्यास अभावको मौकामा केही स्थानमा कालोबजारीसमेत भएको गुनासो बढेको छ। सिरहाको लहान क्षेत्रमा केही विक्रेताले प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँसम्म असुल्ने गरेको उपभोक्ताले बताएका छन्, जबकि सरकारी मूल्य एक हजार ९१० रुपैयाँ मात्र हो। यसैबीच, ग्यास आपूर्ति असहज भएको विषयमा आयल निगम र उद्योगीबीच मंगलबार छलफल भएको छ । छलफलमा डिलरलाई विगतको भन्दा धेरै ग्यास नदिन र बिक्रीको दैनिक विवरण निगमलाई उपलब्ध गराउने सहमति भएको छ । मध्यपूर्वको युद्धले विश्व बजारमा इन्धन आपूर्ति संकटको संकेत देखिँदै जाँदा नेपालमा पनि उपभोक्ता स्तरमै ग्यास र इन्धन सञ्चय गर्ने प्रवृत्ति बढ्न थालेको छ, जसले आगामी दिनमा संकट झन् गहिरिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
मध्यपूर्व तनावले भारतमा पेट्रोलियम आपूर्ति असहज
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले रुसी तेल खरिद गर्दा अन्तर्राष्ट्रिय बजारमा निर्धारण भएको कच्चा तेलको भाउमा चार–पाँच डलर प्रिमियम शुल्क तिरेर भारतले खरिद गरिरहेको छ । यो तेल करिब एक महिनापछि मात्रै भारतको प्रशोधन कारखानामा आइपुग्नेछ । जबकि, फेब्रुअरीमा रुसी तेल खरिद गर्दा अन्तर्राष्ट्रिय बजारभाउमा १३ डलर प्रतिब्यारेलसम्म छुट सुविधा भारतले पाएको थियो । भारतले मध्यपूर्वको तनाव बढ्नासाथ रुसबाट जतिसक्दो धेरै तेल किन्न खोजिरहेको छ । भारतको तीन सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन, भारत पेट्रोलियम, हिन्दुस्तान पेट्रोलियम र मंैगलोर रिफाइनरी एन्ड पेट्रोकेमिकल्सले रुसबाट तेल खरिद गर्न व्यापारीहरूसँग छलफल गरिरहेका छन् । विभिन्न रिपोर्टअनुसार भारतले रुसबाट १२ करोड ब्यारेल रुसी तेल खरिदका लागि समझदारीसमेत गरिसकेको छ ।रुसी तेल खरिदको समझदारीपछि भारतलाई कच्चा तेलको समस्या नहुने धारणा बाहिर आएको छ, तर महँगो मूल्यमा किनेकाले बजारभाउ नियन्त्रण गर्न कठिन हुने देखिएको छ ।
भारतमा कच्चा तेलको मौज्दात कम
मध्यपूर्वबाट विश्वभर २० प्रतिशत तेल निर्यात हुने गरेको छ भने भारतले कुल खपतको ५० प्रतिशत तेल मध्यपूर्वबाटै ल्याउने गरेको छ । तर, त्यहाँबाट हुने आपूर्तिमा असहजता आएपछि घरेलु उपभोक्तालाई ध्यान दिँदै निर्यातमा रोक लगाउने विषयमा भारतीय अधिकारीहरूले छलफल थालेका छन् । किनभने, भारतले आयात गरेमध्ये एकतिहाइ पेट्रोल, एकचौथाइ डिजेल र आधा परिमाण हवाई इन्धन निर्यात गर्दै आएको छ । भारतलाई सबैभन्दा धेरै तनाव भने एलपिजी आपूर्तिमा छ । किनभने, ८५–९५ प्रतिशत एलपिजी आयातमा निर्भर छ ।
यदि तत्काल आपूर्ति रोकियो भने भारतसँग कार्गोमा रहेको स्टे«ट अफ हमुर्ज (विश्वको सबैभन्दा ठुलो तेलमार्ग जुन गल्फ देशहरू पार गर्ने नदीको नाकाका रूपमा परिचित छ) पास भएका कन्टेनरहरूमा केवल दुई हप्तालाई मात्र पुग्ने स्टक छ । भारतको तीन सरकारी कम्पनी र निजी क्षेत्रका तेल कम्पनीसँग मुस्किलले २५ दिनसम्म धान्ने मौज्दात रहेको छ । स्टे«ट अफ हर्मुज खाडी क्षेत्रबाट निकास पाउने नाका भएकाले यहाँ कुनै अवरोध आए विश्वबजारमा तेल संकट गहिरिने गरेको छ । भारतसहित विश्वका ठुला देश रुसी तेलमा निर्भर हुन थालेका छन् ।
अहिले रुसी तेल कम्पनीको सेयर मूल्य पनि उचालिएको छ । सन् २०२५ मा रुसले दुई सय ३८ मिलियन टन तेल निर्यात गरेको थियो । यसमध्ये ८० प्रतिशत चीन र भारतमा निर्यात भएको थियो । ९५ लाख ब्यारेल रुसी तेल बोकेर एसियाली देशसँगको नजिक रहेको समुद्रमा वेटिङ गरेर बसेका छन् । यो तेल किनेर तत्काल आपूर्ति सहज गर्ने विषयमा भारतीय अधिकारीहरूले छलफल अघि बढाएका छन् । भारतले रुसबाट प्रतिदिन करिब ११ लाख ब्यारेलका दरले तेल खरिद गरिरहेको छ । रुसी तेल खरिद गर्नेहरूमा चीन, टर्की र भारत रहेका छन् ।


