Banijya News

नेपाली ग्यास बुलेट नबन्दा वर्षेनी ६ अर्ब बाहिरिँदै

1
1.1K Shares

नेपाली ग्यास बुलेट सञ्चालनमा नआउँदा मुलुकले हरेक वर्ष करिब ६ अर्ब रुपैयाँ भारतलाई तिर्दै आएको छ । स्वदेशमै बुलेट प्रयोग गरेर ग्यास आयात गर्न सकिने अवस्था हुँदाहुँदै नीतिगत जटिलता र भारतबाट ‘एक्सप्लोसिभ लाइसेन्स’ नपाउँदा नेपाल अझै भारतीय बुलेटमै निर्भर रहनुपरेको हो । सरकारले अनुमति दिएपछि निजी क्षेत्रले सयौं ग्यास बुलेट खरिद गरे पनि सञ्चालनमा ल्याउन नसक्दा अर्बौं रुपैयाँ लगानी डुबेको व्यवसायी बताउँछन् । २०७२ सालमा नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट किन्न अनुमति दिएको थियो भने त्यसपछि सरकारले भन्सारमा छुटसमेत दिएको थियो । तर भारतमा सञ्चालनका लागि आवश्यक लाइसेन्स नपाउँदा ती बुलेट प्रयोगविहीन बने ।

उद्योगी धर्मराज बर्तौलाका अनुसार भारतमै निर्माण गरिएका २१ वटा बुलेट प्रयोग गर्न नपाएर घाटामा बेच्नुपर्‍यो । करिब १७ लाख ५० हजार भारुमा किनेको एउटा बुलेट अन्ततः करिब ३ लाख भारुमा बिक्री गर्नुपरेको उनले बताए । गाडी र बुलेट दुवैमा ठूलो घाटा व्यहोर्नुपर्दा झन्डै १५–१६ करोड रुपैयाँ बराबरको लगानी डुबेको उनको भनाइ छ । यस्तै अवस्था अन्य व्यवसायीको पनि छ । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार अनुमति पाएका बुलेटमध्ये एक सयभन्दा बढी निर्माण भइसकेका थिए, जसमा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको थियो । तर सञ्चालन गर्न नपाएपछि अधिकांश बुलेट भारतमै बेच्नुपर्‍यो भने केही गाडी अन्य प्रयोजनमा रूपान्तरण गरिएका छन् ।

नेपाल सरकारले पर्याप्त कूटनीतिक पहल नगर्दा भारतबाट आवश्यक ‘एक्सप्लोसिभ सर्टिफिकेट’ नआएको उद्योगीहरूको गुनासो छ । २०७४ मा उच्चस्तरीय भ्रमणका क्रममा विषय उठे पनि ठोस उपलब्धि हुन सकेन । हाल नेपालमा ग्यासको मासिक खपत ४५ देखि ५० हजार टनसम्म छ, जसको ढुवानी भारतीय ट्रान्सपोर्टरका बुलेटमार्फत भइरहेको छ । सीमित भारतीय कम्पनीको एकाधिकारका कारण ढुवानी खर्च उच्च भएको छ ।

दीर्घकालीन समाधानका रूपमा ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको बहस भइरहे पनि कामले गति लिन सकेको छैन । भारतको मोतिहारीदेखि सर्लाहीसम्म करिब १३० किलोमिटर पाइपलाइन निर्माण र १० हजार टन क्षमताको भण्डारण गृह बनाउने योजना भए पनि विस्तृत परियोजना प्रतिवेदनसमेत तयार हुन सकेको छैन । अनुमानित १५–२० अर्ब रुपैयाँ लागतको उक्त परियोजना अघि नबढ्दा ढुवानी खर्च बर्सेनि बाहिरिइरहेको छ ।

सरकार र सम्बन्धित निकायले पाइपलाइन तथा भण्डारणलाई प्राथमिकतामा नराख्दा ग्यास आपूर्ति प्रणाली अझै अस्थिर र आयातमा निर्भर बनेको छ । ऊर्जा क्षेत्रमा वैकल्पिक उपायका रूपमा विद्युत् प्रयोग बढाउने चर्चा भए पनि विश्वसनीय पूर्वाधार अभावका कारण तत्काल ग्यासको विकल्प सम्भव नभएको सरोकारवालाहरू बताउँछन् । यसरी, स्वदेशी बुलेट सञ्चालन र पाइपलाइन निर्माणमा भएको ढिलाइले न केवल निजी क्षेत्रको अर्बौं लगानी डुबाएको छ, मुलुकको विदेशी मुद्रा बाहिरिने क्रमसमेत रोक्न नसकिएको देखिन्छ ।

1

Scroll to Top