Banijya News

१५ लाख मोबाइल भित्रिँदा उपभोक्ता बजार ४० प्रतिशत महँगो

1
1.2K Shares

पछिल्लो आठ महिनामा नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन भित्रिँदा उपभोक्ता बजारमा यसको मूल्य करिब ४० प्रतिशतसम्म बढेर महँगो भएको देखिएको छ। आयात मूल्यमा कर, शुल्क र विभिन्न तहका मार्जिन थपिँदा मोबाइलको अन्तिम खुद्रा मूल्य उल्लेख्य रूपमा वृद्धि भएको हो। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १५ लाख २८ हजार ४९५ वटा स्मार्टफोन नेपाल भित्रिएका छन्। यी मोबाइलको कुल भन्सार मूल्य २९ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने सरकारले यसबाट ५ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। बजारसम्म पुग्दा थपिने कर तथा व्यवसायीको मार्जिनका कारण मोबाइलको कुल कारोबार करिब ४१ अर्ब ९१ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मोबाइल आयात बढेको छ। अघिल्लो वर्ष १४ लाख ७ हजार मोबाइल आयात हुँदा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको भन्सार मूल्य रहेको थियो र ४ अर्ब ८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस वर्ष आयात सङ्ख्या करिब एक लाखले बढ्नुका साथै मूल्यमा झन्डै ८ अर्ब रुपैयाँ वृद्धि देखिएको छ । मोबाइलको मूल्य बढ्नुमा कर संरचना प्रमुख कारणका रूपमा देखिएको छ। नेपालमा मोबाइल आयात गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत अन्तःशुल्क लाग्छ। यसबाहेक आयातकर्ताले करिब १८.६५ प्रतिशतसम्म राजस्व तिर्नुपर्छ। त्यसपछि होलसेल र रिटेल चरणमा थपिने मार्जिनका कारण उपभोक्ताले तिर्नुपर्ने मूल्य आयात मूल्यभन्दा झन्डै ४० प्रतिशतसम्म महँगो हुने गरेको व्यवसायीहरूको भनाइ छ।

मोबाइल आयातकर्ता सङ्घका अनुसार आयातकर्ता र बिक्रेताले करिब ५.५ प्रतिशत मार्जिन राख्ने गरेका छन् भने वितरण प्रक्रियामा थप मार्जिन जोडिँदै जान्छ। यसरी कर र मार्जिन जोडिँदा उपभोक्तासम्म आइपुग्दा मूल्यमा ठूलो अन्तर देखिन्छ । यता, पछिल्लो समय किस्ताबन्दी सुविधाले पनि मोबाइलको व्यापार बढाउन सहयोग पुर्‍याएको छ। विशेषगरी २५ हजारदेखि ३० हजार रुपैयाँभन्दा माथिका स्मार्टफोनमा किस्ताबन्दी सुविधा लिने उपभोक्ताको सङ्ख्या बढ्दो छ। उपभोक्ताले प्रारम्भमा करिब ४० प्रतिशत रकम तिरेर बाँकी ६० प्रतिशत किस्तामा भुक्तानी गर्ने प्रवृत्ति बढेको व्यवसायीहरू बताउँछन्।

व्यवसायीका अनुसार किस्ताबन्दी सुविधाले महँगो मोबाइल खरिद गर्न सहज बनाएको छ, जसका कारण बजार विस्तारमा थप टेवा पुगेको छ। तर, कर र विभिन्न मार्जिनका कारण मूल्य बढिरहँदा उपभोक्ताले भने महँगो मूल्य तिर्न बाध्य हुनुपरेको देखिन्छ।

1

Scroll to Top