Banijya News

बैंकहरुको निक्षेप संकलन दर ६ प्रतिशतले वृद्धि

1
1.0K Shares

पछिललो सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशतको वृद्धि हो । यससँगै गत माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ । गत वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप ३.८ प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब ३४ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक गतिविधि चलायमान नहुँदा कर्जा माग बढ्न सकेको छैन । पछिललो सात महिना (साउनदेखि माघ) सुरुदेखि नै कर्जा विस्तारले गति लिन नसकेको हो । चैत तेस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरूको ध्यान कर्जा असुलीमा गएको र कर्जा माग पनि अपेक्षित रूपमा बढ्न नसकेको हो ।
२०८२ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती खातको हिस्सा ६.५, बचतको ४२.८ र मुद्दती निक्षेपको ४१.६ प्रतिशत छ । गत वर्षको सात महिनामा यस्तो अंश क्रमशः ५.२, ३४.८ र ५२.४ प्रतिशत थियो । यस्तै माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत छ । २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत थियो । गएको सात महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ४ प्रतिशतको वृद्धि हो । यससँगै गत माघसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सात महिनामा कर्जा प्रवाह ५.६ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४६ करोडले बढेको थियो ।

वार्षिक विन्दुगत गत माघसम्म कर्जा प्रवाह ६.८ प्रतिशतले बढेको छ । यस वर्ष राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तारको लक्ष्य राखेको छ । आर्थिक वर्ष सकिन करिब चार महिना मात्र बाँकी रहेकाले बढीमा लक्ष्यको ६/७ प्रतिशतसम्म मात्र कर्जा विस्तार हुने जानकार बताउँछन् । अहिलेसम्मको अवस्था हेर्दा आउँदा महिनामा कर्जा विस्तारको गति बढ्ने सम्भावना रहेको खनालले जनाए । २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको सात महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ऋण प्रवाहको वृद्धिदर ४.२, विकास बैंकहरूको ३ र वित्त कम्पनीहरू १.८ प्रतिशत छ । २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत छ । घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

1

Scroll to Top