Banijya News

पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार र पूर्वाधार करमा ५० प्रतिशत छुट

1
1.1K Shares

सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पेट्रोलियम आपूर्ति सहज बनाउन ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीको प्रयोग बढाउन सरकारको आह्वान गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले १५ दिनयता पेट्रोलियम पदार्थको आपूर्तिका कारण आयल निगम ११ अर्बभन्दा बढी घाटामा गएका कारण मूल्य समायोजन गर्नुपरेको बताइन् । अहिले पूर्वाधार विकास कर प्रतिलिटर १० रुपैयाँ लाग्ने गरेको छ ।

डिजेल र पेट्रोल आयातमा कति र कुन-कुन कर लाग्छ ?

सरकारले भन्सार र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि राजपत्रमा प्रकाशन भएपछि मात्रै लागू हुनेछ । हाल एक लिटर पेट्रोल आयात गर्दा २५ रुपैयाँ २३ पैसा भन्सार महसुल, प्रदुषण शूल्क १ रुपैयाँ ५० पैसा, हरित कर प्रतिलिटर १ रुपैयाँ, पूर्वाधार विकास कर प्रतिलिटर १० रुपैयाँ, सडक मर्मत दस्तुर प्रतिलिटर ४ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लाग्दै आएको छ । कुल प्रति लिटर पेट्रोल आयातमा भ्याटबाहेक ४१ रुपैयाँ ७३ पैसा लाग्ने गरेकामा सरकारले दिएको छुट पछि प्रतिलिटर २४ रुपैयाँ ११ पैसा मात्र तिर्नुपर्नेछ ।

अब सरकारले छुट पेट्रोल आयातमा ५० प्रतिशत छुट दिँदा १२ रुपैयाँ ६१ पैसा भन्सार महसुल र प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर तिर्नुपर्ने छ । प्रदुषण शूल्क १ रुपैयाँ ५०, हरित कर प्रतिलिटर १ रुपैयाँ, सडक मर्मत दस्तुर प्रतिलिटर ४ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत भने तिर्नु पर्नेछ ।अब प्रतिलिटर पेट्रोल आयातमा १७ रुपैयाँ ६२ रुपैयाँ छुट पाउने भएको हो ।

हालसम्म डिजेल आयात गर्दा प्रतिकिलोलिटर १२ हजार भन्सार महसुल, हरित कर प्रतिलिटर १ रुपैयाँ, पूर्वाधार विकास कर प्रतिलिटर १० , सडक मर्मत दस्तुर प्रति लिटर २ रुपैयाँ र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्छ । प्रतिलिटर डिजेल आयातमा सरकालाई भ्याटबाहेक २६ रुपैयाँ ५३ पैसा तिर्दै आएको छ । सरकारले दिएको छुट पछि डिजेलमा प्रतिकिलोलिटर ६ हजार रुपैयाँ भन्सार महसुल र प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर तिर्नुपर्नेछ । अन्य कर भने यथावत नै रहेकाले अब प्रतिलिटर डिजेल आयातमा १५ रुपैयाँ ५३ पैसा तिर्नुपर्नेछ ।

1

Scroll to Top