Banijya News

कच्चा पदार्थ महँगिँदा संकटमा नेपाली गार्मेन्ट उद्योग

1
1.1K Shares

पश्चिम एसियामा चर्किएको इरान–इजरायल द्वन्द्व को प्रभाव नेपाली तयारी पोसाक (गार्मेन्ट) उद्योगमा देखिन थालेको छ । कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानीमा ढिलाइ र कार्गो भाडा महँगिँदा उद्योगीहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । उद्योगीहरूका अनुसार पछिल्लो समय उत्पादन लागत करिब १० देखि १५ प्रतिशतसम्म बढिसकेको छ । विशेषगरी कच्चा तेलको मूल्य वृद्धि र आपूर्ति शृंखलामा आएको अवरोधले पेट्रोकेमिकल्स महँगिँदा त्यसबाट बन्ने सिन्थेटिक फाइबरको मूल्य ह्वात्तै बढेको छ । काठमाडौंस्थित एक गार्मेन्ट उद्योगका सञ्चालक सञ्जय अग्रवालका अनुसार थाइल्यान्ड, जापान, भारत, चीन र ताइवानबाट आउने कच्चा पदार्थको ढुवानी खर्च उल्लेख्य रूपमा बढेको छ ।

ढुवानीमा ढिलाइसँगै कन्टेनर भाडा पनि बढेको उद्योगीहरूको भनाइ छ । नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघका अध्यक्ष किशोर नेपालका अनुसार कन्टेनर भाडा करिब ३ हजार ४ सय डलरबाट बढेर ४ हजार ८ सय डलरसम्म पुगेको छ । “पहिले ३०–३५ दिनमा आइपुग्ने सामान अहिले दुई महिनासम्म लाग्न थालेको छ,” उनले बताए । चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका तातोपानी र केरुङमा भइरहेको सडक निर्माणले पनि ढुवानीमा थप समस्या सिर्जना गरेको छ । नाका नियमित सञ्चालन नहुँदा कच्चा पदार्थ ल्याउन ढिलाइ भइरहेको व्यवसायीहरू बताउँछन् ।

गार्मेन्ट उद्योगका लागि आवश्यक धागो, बटन, जिपर, पोलिथिन ब्यागजस्ता सहायक सामग्रीको मूल्यसमेत बढेको छ । टेक्सटाइल उत्पादन प्रक्रिया ऊर्जा–निर्भर हुने भएकाले बिजुली र इन्धनको लागत बढ्दा स्पिनिङ, बुनाइ, रंगाइ र फिनिसिङ सबै चरणमा खर्च बढेको उद्योगीहरू बताउँछन् । उत्पादन लागत बढेको असर बजारमा समेत देखिन थालेको छ । उत्पादकले बढेको लागत ब्रान्ड र विक्रेतामार्फत उपभोक्तामा सार्न थालेपछि कपडाको खुद्रा मूल्य बढ्ने सम्भावना देखिएको छ । तर आर्थिक अनिश्चितता र मुद्रास्फीतिका कारण उपभोक्ताले लत्ताकपडामा खर्च घटाउँदा मागसमेत घट्न थालेको व्यवसायीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण एसियाको करिब ५० अर्ब डलरको तयारी पोसाक निर्यात बजारसमेत अहिले दबाबमा छ । खाडी क्षेत्रबाट आउने पेट्रोकेमिकल आपूर्तिमा अवरोध हुँदा नेपालसँगै भारत, बंगलादेश र भियतनामजस्ता मुलुकका उद्योगहरू प्रभावित भइरहेका छन् । उद्योगीहरूका अनुसार अवस्था लामो समयसम्म यथावत् रहे साना तथा मझौला गार्मेन्ट उद्योगमा उत्पादन कटौती र रोजगारीमा समेत असर पर्ने जोखिम बढ्दै गएको छ ।

1

Scroll to Top