कुनै हवाई कम्पनीको लापरवाहीका कारण उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था अघि सारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३ मा यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।
मन्त्रालयले संघीय संसदमा दर्ता गराइसकेको सो प्रस्तावित ऐनमा सरकारले कम्पनीको लापरवाहीका कारण उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ । कारणबस् उडान ढिलो हुने वा स्थगित हुने अवस्था आए कम्पनीले कम्तीमा ३ घण्टा अगाडि यात्रुलाई सोको जानकारी गराउनुपर्नेछ ।
त्यस्तै, उक्त प्रस्तावित ऐनमा उडान ढिलाई र रद्द मात्र होइन, दुर्घटना, सामान हराउने वा क्षति हुने लगायतका अवस्थामा समेत एयरलाइन्स कम्पनीलाई आर्थिक क्षतिपूर्ति तिराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावित ऐनअनुसार, आन्तरिक हवाई दुर्घटनामा मृत्यु भए मृतकका परिवारलाई एक लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि यस्तो क्षतिपूर्तिको सीमा २० हजार अमेरिकी डलर थियो ।
मन्त्रालयले संघीय संसदमा दर्ता गरेको सो ऐनमा हवाई दुर्घटनामा मृतकको शव परिवारलाई हस्तान्तरण गर्दा मृत्यु संस्कारका लागि तत्काल कम्तीमा पाँच लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने पनि व्यवस्था उल्लेख गरिएको छ । सो रकम अन्तिम क्षतिपूर्तिबाट समायोजन हुनेछ ।
त्यस्तै, हवाई दुर्घटनामा घाइते भएका यात्रु वा तेस्रो पक्षको सम्पूर्ण उपचार खर्च सम्बन्धित एयरलाइन्स कम्पनीले नै व्यहोर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अंगभंग वा अन्य शारीरिक क्षति भए अधिकतम एक लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्नेछ ।
यसैगरी, यात्रुका ब्यागेज हराए, नष्ट भए वा क्षति पुगे प्रतिकिलो २० अमेरिकी डलरका दरले अधिकतम ५०० अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि उक्त ऐनमा प्रस्ताव गरिएको छ ।


